अर्थतन्त्र

इन्दुशङ्कर चिनी उद्योग सञ्चालन

सर्लाही । इन्दुशङ्कर चिनी उद्योग सञ्चालनमा आएको छ ।  हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको हो । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले जानकारी दिएका छन् ।

रजकका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष उद्योगले २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको थियो । यस उद्योगले दशैँअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरिसकेको छ । जिल्लामा तीन वटा चिनी उद्योग रहेता पनि इन्दुशङ्कर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजक बताउँछन् ।

सोही जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताएका छन् । यी दुबै उद्योग विरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौँमा आन्दोलन गरिरहेका छन् । गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन चार वर्षदेखिकै भुक्तानी दिएका छैनन् ।

दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यो वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नो तर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको दाबी गर्दै आए पनि किसानले भने सो उद्योगबाट केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले यसवर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य रु ५४४ दिन सिफारिस गरिसकेको छ । तर किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम हुनुपर्ने माग राख्दै आएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत