कृषि

आलुको बीउ अभाव हुँदा किसान चिन्तित 

ताप्लेजुङ । ताप्लेजुङमा आलु रोप्ने समय सुरु भएको छ । यो समयमा आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् ।

आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने काम गरिन्छ । 

गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरीमा मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताएका छन् । यस्तै अर्का किसान केल्साङ शेर्पा गत चैतमा आठ मुरी रोपेको आलुबाट पाँच मुरी मात्र उत्पादन भएपछि चिन्तित देखिन्छन् । घुन्सा गाउँमा जम्मा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन् । 

यी समुदायले परापूर्वकालदेखि नै मुख्य बालीको रुपमा आलुखेती गर्दै आएको छ । यहाँ रातो, आलु र सोलु आलु गरी तीन प्रकारका आलु रोप्दै आएको टाँसी तेन्जी शेपाले बताए । मङ्सिर १५ देखि यहाँका किसान चौँरी, याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडेर फलेटारसम्म आलु बिक्री गर्न जाने गरेको शेर्पा बताउँछन् ।

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङ्खिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय १५ मङ्सिरपछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडेर फलेटार आलुको बिउ साट्न पुग्दछन् । यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ ।

हिमाली क्षेत्रमा जालवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि आलु बीउको अभाव भएको फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत