निर्माण

पेट्रोलियम पाइपलाइनको सर्वेक्षण सम्पन्न

काठमाडौँ । सिलगुढी-झापा पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वेक्षण सम्पन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको हो । सर्वेक्षणले झापाको चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्मको नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको हो । 

अब परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको नेपाल आयल निगमले बताएको छ । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग हुँदै पाइपलाइन बिछ्याइने निगमका निर्देशक तथा नेपालतर्फको संयुक्त अध्ययन समूहका संयोजक वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको  लेआउट तयार गरेको छ । उनले भने “चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको संरचना पनि तयारीको अन्तिम चरणमा छ । पाइपलाइनको सर्वेक्षण सम्पन्न भएको छ । अब डीपीआर तयार हुनेछ । यी काम पनि डीपीआर अन्तर्गतकै काम हुन् ।’’

पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेटोलियम पदार्थ भण्डारण निर्माण हुनेछ । जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चारसय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको निर्माण गरिने भएको छ । जसमा प्रदेश नम्बर १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हुनेछ ।

चारआलीमा एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्टको निर्माण कार्य पनि सुरु भइसकेको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत निगमको बार्षिक कार्यक्रम अनुसार पाइपलाइनको काम अगाडि बढाइएको निगमले जनाएको छ । करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण कार्य अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्ति भई कार्य सुरु भइसकेको निगमले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत