स्वास्थ्य

कोरोना विरुद्धको खोपमा नेपाललाई प्राथमिकता : सेरम

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि सेरमले नेपाललाई प्राथमिकतामा राखेको छ । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि पनि खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् । 

सेरमले खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटान लगायत मुलुकलाई प्राथमिकता राखेको राजदूत आचार्यले बताए। भेटमा राजदूत आचार्यले खोप विकासको पछिल्लो अवस्था, उत्पादन र वितरण सम्बन्धमा चासो राखेका थिए । भारतमा हाल सेरम लगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले जतिसक्दो चाँडो खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थालाई औपचारिक रूपमै आग्रह गरिसकेको दाबी छ । 

नेपालले भारतसँग पनि खोपको व्यावसायिक उत्पादन सुरु भएपछि सकेसम्म चाँडो उपलब्ध गराउन आग्रह गरेको छ । भारतका लागि नेपाली राजदूत आचार्यले सोमबार सेरम इन्स्टिच्युटका संयुक्त निर्देशक सिंहसँग भेट गरेका छन् । गत महिना भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणका क्रममा पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमा नेपाल प्राथमिकतामा रहेको बताएका थिए । विश्वमा भारतले ६० प्रतिशतभन्दा बढी खोप उत्पादन गर्ने गरेको बताएको छ ।

भारतमा खोपको सरकारी मूल्य ३ डलर र खुला बजारमा ६ डलरसम्म पर्ने अनुमान गरिएको छ । उक्त खोप दुई पटक लगाउनुपर्ने जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत