निर्माण

सिलगढी चारआली पेट्रोलियम पाइपलाइनको  काम अघि बढ्दै

काठमाडौँ । झापाको मेचीनगरपालिका–१३ स्थित चारआलीमा सिलगढी चारआली पेट्रोलियम पाइपलाइनको संरचना निर्माणको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि काम अगाडि बढाइएको हो । 

उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार २५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण गरिने चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिएका छन् । आगामी फागुनबाट पेट्रोलियम पाइपलाइनको काम शुरु हुने भएको छ। पचास किलोमिटर पाइपलाइनको काम शुरु गर्न सोमबार रुट पहिचान (सर्भे) सकिएको छ । करीब रु १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको हो । 

सर्भे अनुसार पाइपलाइन भारतको सिलगढीबाट पानी ट्याङ्किको दक्षिण भेग हुँदै नेपाल भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ। यसपश्चात् पूर्व पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने प्रमुख न्यौपानेले बताए । इण्डियन आयल कर्पोरेशन (आइओसी) को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

उक्त पाइप जमिनदेखि दुई मिटरमुनिसम्म विछ्याइने छ। पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर विछ्याउनुपर्ने सर्भे टोलीका इञ्जिनीयर मसिनी खड्काले जनाएका छन् । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्‍ने निगमले जनाएको छ। भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा अवस्थित छ ।

गाउँ सहर डेस्क

तपाईँको मत