अर्थतन्त्र

नौ अर्बको कारोबारमा पनि १८४ कम्पनी राताम्मे

काठमाडौं । आज नेप्सेमा नौ अर्बको कारोबारमा पनि १८४ कम्पनी राताम्मे भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दा त्यसको प्रभाव सेयर बजारमा पनि परेको छ । जसको प्रभावले दिनभर जस्तो उतारचढाव देखिएको सेयर बजारमा राष्ट्रपतिले संसद विघटन गर्ने निर्णय गरेसँगै लगातार ओरालो लाग्दा सेयरबजार परिसूचक नेप्सेमा करिब ९६.८८ अंकले गिरावट आएको छ । 

आइतबार बजार परिसूचक नेप्से ९६.८८ अंकले गिरावट हुँदा १९३५.६३ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १६.३९ अंक, फ्लोट इण्डेक्स ५.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ ।

संसद् विघटनले गर्दा अन्योलमा देखिएका लगानीकर्ताले बिक्री चाप बढाउँदा नेप्सेमा पहिरो गए पनि बजारमा रहेको अधिक तरलताले गर्दा बजार बढ्ने विश्वासमा खरिदकर्ता पनि सक्रिय हुँदा साढे ९ अर्ब माथिको कारोबार भएको छ । 

आज नेप्सेमा ७९ हजार ९६७ कारोबारमा १९८ कम्पनीको १ करोड ४५ लाख ०९ हजार ५३३ सेयर किनबेच हुँदा ९ अर्ब ४ करोड ७९ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको उपसूचक रातो हुँदा अन्य समूहको सूचक ८.३९ प्रतिशतले घटेको छ । 

यस दिन ५ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अपर तामाकोशी, सूर्योदय लघुवित्त, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

जीवन बिमा निर्जीवन बिमा समूहको सूचक ५ प्रतिशत माथिले झरेको छ ।  बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि झन्डै ३ प्रतिशतले झरेको छ ।  कारोबारमा आएका १९८ कम्पनीमध्ये ८ कम्पनीको मात्रै सेयर मूल्य वृद्धि हुँदा १६५ कम्पनीको सेयरमूल्य घटेको छ । 

नेपाल पुनर्बिमा कम्पनीसहित १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले घटेको छ भने नेप्सेमा सूचीकृत भएर आजबाट कारोबार खुलेको युनाइटेड इदी मार्दीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम अर्ब नाघ्दा नेपाल पुनर्बिमा कम्पनीको करिब ८० करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्यारेन्सको १ अर्ब ७ करोड १९ लाख १४ हजारको कारोबार भएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत