निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : तीन वर्षमा उल्लेख्य प्रगति

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी दक्ष जनशक्ति मार्फत अन्तरराष्ट्रिय मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिने गरी विमानस्थलको निरन्तर सुदृढीकरणको काम चलिरहेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको विसं २०७४ फागुनदेखि २०७७ मङ्सिरसम्मको प्रगति विवरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग प्रचलित आधुनिक प्रविधि तथा सामग्रीको प्रयोग गरी धावनमार्ग जीर्णोद्धार (रनवे रिह्याबिलिटेसन) गर्ने कार्य तोकिएको समयावधिभन्दा पाँच महिना अगाडि नै सम्पन्न गरेको थियो । विमानस्थल दैनिक २१ घण्टा सेवा सञ्चालनका लागि खुला गरिएको छ ।

मूल्य अभिवृद्धि कर सहित रु चार अर्ब २७ करोडमा निर्माण सम्झौता भएको जीर्णोद्धारको पहिलो चरणमा विसं २०७५ चैत १८ देखि २०७६ हजार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएको थियो । विमानस्थलको तीन हजार ५० मिटर लम्बाई र ४६ मिटर चौडाई थियो । पछिल्लो पटक थप ३०० मिटर धावनमार्ग विस्तारको काम पनि सकिएको छ ।

विमानस्थलमा थप चार वटा ठूला र दुई साना जेट विमान बिसान हुनसक्ने क्षमताको एप्रोन निर्माण गरिएको छ । यससँगै अन्तरराष्ट्रिय पार्किङ (वे सङ्ख्या रिमोट पार्किङसहित १५ पुगेको छ । ‘रनवे जिरोटू’ तर्फ ‘रनवे इन्ड सेफ्टी’ एरिया बनाउने काम पनि सकिएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ प्रस्थान कक्ष (स्टेराइल हल) सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा ब्यागेज ह्याण्डलिङ सिस्टम जडान गरिएको छ । यसबाट आन्तरिक उडानका हवाई यात्रुको सरसामन लिन सहज भएको छ । अन्तरराष्ट्रियतर्फ टर्मिलन भवनमा सेन्ट्रल एयर कण्डिसन सिस्टम जडान गरिएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीका अनुसार अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थावित गुरुयोजना अन्तर्गत स्तरोन्नतिका थप कार्य  भइरहेको छ ।हालको विमानस्थलको जहाज तथा यात्रु मुभमेन्टका आधारमा सन् २०२८ सम्मको गुरुयोजनाको अवधारणमा सुधारको काम थालिएको आयोजना भण्डारीले बताएका छन् ।विमानस्थलको हरेक पाँच पाँच वर्षमा गुरुयोजना अपग्रेट गरिन्छ । 

विमानस्थलको उत्तरतर्फ साना ठूला गरी २२ वटा जहाज राख्न मिल्ने गरी पार्किङको काम भइरहेको छ । विमानस्थलको पूर्वतर्फ गोठाटार परिसरमा ह्याङ्गर एरिया बनाउने योजना रहेको छ ।

अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक अवधारणा अनुसार सौन्दर्यीकरण तथा साजसज्जाको कार्य अगाडि बढाइएको छ । आगमन कक्षको टर्मिलन भवनमा सिलिकन पेन्टिङ गरिएको छ । बुटिक अवधारणाअनुरुप विमानस्थलमा अन्तरराष्ट्रिय तथा आन्तरिक टर्मिलन भवनभित्र सुधार कार्य र क्यानोपी स्ट्रक्चर को निर्माणकार्य सञ्चालन रहेको छ ।सो विमानस्थलको अधिकतम क्षमता बढीमा ९० लाख रहेको देखिन्छ । हवाई यात्रु वृद्धिदर यही कायम भए यो सङ्ख्या सन् २०२२ मा पुगिसक्ने विज्ञको अनुमान छ । क्यानको पछिल्लो तथ्याङक अनुसार सन् २०२० को नौ महिनाको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या घटेको छ । सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार २०८ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत बढी थियो ।

आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ । सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११।९६ प्रतिशत हो । सन् २०१८ मा १६.१६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो ।

अन्तरराष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकका ३२ गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा नौ फिक्सड विङ वायुसेवा र १० हेलिकप्टर कम्पनी सञ्चालनमा रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत