अर्थतन्त्र

उखु किसानको बक्यौता रकम दैनिक एक करोडका दरले भुक्तानी गर्ने : अन्नपूर्ण सुगर मिल

काठमाडौँ । अन्नपूर्ण सुगर मिलले उखु किसानको बक्यौता रकम दैनिक एक करोडका दरले भुक्तानी गर्ने भएकाे छ । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको हाे । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको छ ।

मिलले दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिएका छन् । अग्रवालका अनुसार गत वर्ष किसानलाई अठार करोड भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड छ । त्यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले चार करोड ७० लाख भुक्तानी गर्न बाँकी छ ।

सबैभन्दा धेरै बक्र्यौता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको जनाएको छ । उक्त मिलले सोमबारसम्म बक्र्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार बक्र्यौता रकम भुक्तानी गरेको जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको १७ करोड र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी छ । 

गाउँ सहर डेस्क

तपाईँको मत