समाज

विपद्‍बाट हुने क्षति कम गर्न प्रविधियुक्त प्रहरी जनशक्ति आवश्यक : मन्त्री हरिबहादुर चुमान

गण्डकी । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रहरी संगठनलाई समय अनुसार प्रविधियुक्त एवम् दक्ष जनशक्तियुक्त बनाउन नसके देशमा आइपर्ने विभिन्न विपद्हरूबाट जनधनको क्षति न्यूनीकरण गर्न नसकिने बताएका छन् ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार, यही पौष ०१ गते पर्वत जिल्लाको कुश्मा नगरपालिका ०४ गुप्तेश्वर गुफास्थित जिल्ला प्रहरी कार्यालय पर्वत र प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङद्वारा संयुक्त रुपमा संचालित विपद् व्यवस्थापन सम्बन्धी अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेश प्रहरीलाई  प्रविधि तथा श्रोत साधन र सुविधायुक्त बनाई नागरीक मैत्री सेवा प्रवाहका हिसाबले देशकै नमूना प्रदेश प्रहरी बनाउने तर्फ गण्डकी प्रदेश सरकार एवम् आन्तरिक मामिला तथा कानून मन्त्रालय लागि परेको बताएका छन् । कायैक्रममा उनले शान्ति सुरक्षा तथा अमन चयनको सवाल सबै सरोकारवाला निकायसँग सम्बन्धित भएकाले यसप्रति सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा समेत जोड दिए ।

गण्डकी प्रदेश अन्तर्गत वार्षिक रुपमा प्राकृतिक विपद्का कारण हुने ठूलो जनधनको क्षतिलाई मध्यनजर गर्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरूको पूर्व तयारी स्वरुप उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रममा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म, बागलुङको उद्धार टोलीले भीरबाट खसेका मानिसहरूको उद्धारमा गरिने कारबाहीको नमूना प्रर्दशन गरेका थिए ।

सोही अवसरमा माननीय मन्त्री चुमानले जिल्ला प्रहरी कार्यालय पर्वतका भौतिक संरचनाहरूका साथै जिल्ला कारागार पर्वतको समेत निरीक्षण एवम् अवलोकन गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत