पर्यटन

पर्यटकीय गन्तव्यमा चहलपहल बढ्दै

रसुवा । पर्यटकीय गन्तव्यमा चहलपहल बढ्दै गएको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको हो । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको उक्त पदमार्गमा पछिल्लो समय फाट्टफुट्ट रूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले सङ्केत देखिएको छ ।

असार, साउन एवं भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौँबाट नजिक, अन्य क्षेत्रको तुलनामा कम खर्चमा घुम्न सकिने र प्राकृतिक छटा अवलोकनले मन प्रफुल्ल बनाउने भएका कारण अधिकांश पाहुना रसुवा आउने गर्दछन्। गोसाइँकुण्ड गाउँपालिका क्षेत्रभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव शून्यमा झरेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमणको प्रभाव शून्य भएपछि पर्यटकीय एवं धार्मिक क्षेत्रमा रहेका सबै होटल तथा लज पुुनः सञ्चालनमा आइसकेको चन्दनबारीका पर्यटन व्यवसायी पासाङयुर्मी तामाङले जानकारी दिए ।

पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने यात्रु फाट्टफुट्ट रूपमा ओहाेरदोहाेर गर्न थालेको धार्मिक मार्गका होटल व्यवसायी बताउँछन्  । कोभिड–१९ को असरले साउनदेखि मङ्सिर मसान्तसम्म ९८९ पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लाङटाङ तथा गोसाइँकुण्डको हिमशृङ्खला, कुण्ड तथा ताल, झर्ना र जैविक विविधताको अवलोकन गरेको स्थानीय बताउँछन् । 

गत वर्षको यो समयमा १४ हजार ९३३ पर्यटक आएको अभिलेखबाट देखिँदा कोरोनाको असरले पर्यटकको आगमन सङ्ख्या यस वर्षको पाँच महिनामा ९३ प्रतिशतले कमी भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । आर्थिक वर्षमा आएका पर्यटकमा ६६ विदेशी र ९२३ स्वदेशी रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेवापत लिइने शुल्कको राजश्व भने दुई लाख ३६ हजार ३०० मात्र प्राप्त भएको छ ।

निकुञ्ज क्षेत्रको भ्रमण गर्ने स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु १०० र विदेशीको हकमा रु तीन हजार आगमन शुल्क लिने कानूनी प्रावधान छ । प्रवेश शुल्कवापत गत वर्ष यस अवधिमा रु तीन करोड १९ लाख ४८ हजार असुली भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए । शुरू–शुरूमा कोरोना रोगको डर, त्रासबाट अत्तालिएका स्थानीय बासिन्दाले स्वास्थ्यको मापदण्ड अपनाई आफ्ना नियमित काम गर्दै आएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत