समाज

 मालपोतका हाकिम विरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौँ । तुलसीपुर मालपोत कार्यालयमा भएको घुसकाण्डमा मालापोत प्रमुख समेत तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाकिमसहित तीन जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको छ ।

ना.सु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुस मागेकोमा तीन लाख २० हजार घुस रकम माग गरेका  थिए । उनीहरु घुससहित रंगेहात पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारीको समेत मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ ।

मोठफाँटका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले मिलेमतो गरी सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई सेवाग्राहीको नियमानुसार निशुल्कः गर्नुपर्ने कामको लागि दुःख हैरानी दिई झुलाई कार्यालय प्रमुख नरेश कुमार खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम निजहरुले भने अनुसार कार्यालय सहयोगी मिनराज गैरेले रु ३,२०,०००।– घुस ररिसवत रकम माग गरी बुझिलिएको पुष्टि हुन आएकोले निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजहरु नरेश कुमार खड्का, केशवराज अधिकारी, पुष्पराज गिरी र मिनराज गैरेलाई जनही रु ३,२०,०००।– (तीन लाख बीस हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत