पर्यटन

आजबाट तालवाराही मन्दिर खुल्ला, डुङ्गा चालक देखिए खुशी

पोखरा । आजबाट तालबाराही मन्दिर भक्तजनहरुका लागि खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको उक्त मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो । फेवातालको बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तालवाराही मन्दिर पुनः खुला गरिएको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिएका छन् ।

“लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ ”, उनले भने । उनले मन्दिर प्रवेशका लागि भौतिक दुरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार मन्दिर बन्द रहेका अवस्थामा पुजारी मार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुङ्गा चालक खुशी देखिएका छन् । पोखरा आसपासका पर्यटकीय गन्तव्य खुलेपछि नयाँ वर्षमा हुने सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढ्न सक्ने विश्वास गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत