पर्यटन

चितवनको माडीमा अयोध्याधाम गुरुयोजना सहितको डीपीआर तयार

चितवन । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र माडी नगरपालिकाको समन्वयमा गुरुयोजना सहितको डीपीआर तयार गरिएको हो ।  त्यहाँ निर्माण हुने मन्दिरहरूको नक्सासमेत बनाइएको गुप्ताले जानकारी दिए । अयोध्याधामको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने प्रक्षेपण गुरुयोजनामा उल्लेख गरिएको  छ । गुरुयोजनाअनुसार काम सम्पन्न भए २—३ वर्ष लाग्ने बताइएको छ ।

भगवान् श्रीरामको भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाह मण्डप, वाल्मीकि आश्रम निर्माण गुरुयोजनामा समेटिएको छ । यस्तै लक्ष्मण वाटिका, अशोक वाटिका, जटायु पार्क, वाल्मीकि आश्रम निर्माणलाई पनि गुरुयोजनामा समेटिएको छ । नेपालका चारै धाम पशुपति, वराह, मुक्तिनाथ र रिडीको मन्दिर निर्माणलाई पनि गुरुयोजनामा समावेश गरिएको छ । अयोध्याधामको चरणबद्ध विकास गर्ने योजनाअनुरूप पहिलो चरणमा राम, सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ ।

२०७८ सालको रामनवमीका दिन भगवान राम, सीता र लक्ष्मणको मन्दिर अनावरण गर्ने गरी निर्माण योजना अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन रहेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए ।

“२०७८ सालको चैतमा पर्ने रामनवमीका दिनमा अनावरण गर्ने गरी भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण कार्यलाई तीव्रता दिइनेछ”, नगर प्रमुख ढकालले भने ।
अयोध्याधाम निर्माणका लागि माडी नगरपालिकाले एक सय बिघा जग्गा हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ । यस्तै नगरपालिकाको वडा नंम्बर ८ मा रहेको थप ५० बिघा जग्गा पनि अयोध्याधामलाई उपलब्ध गराउने निर्णय नगरपालिकाले गरिसकेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामै अयोध्याधाम बनाउने प्रक्रिया सुरु गरिएको हो । 

गाउँ सहर डेस्क

तपाईँको मत