समाज

भत्ता बुझेर पनि पोशाक लगाउँदैनन् सिंहदरबारका कर्मचारीहरू

काठमाडौं । भत्ता बुझेर पनि पोशाक लगाउँदैनन् सिंहदरबारका कर्मचारीहरू । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच गरेको छ । कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताएका छन् । उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताए । चेकजाँचमा अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको  उनले बताए ।

पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको डिएसपी अधिकारीले बताए । सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारी बताउँछन् । अबदेखि नियमित रुपमा छड्के जाँच गरिने डिएसपीले बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत