सञ्चार

जिम्मेवारी अनुसार काम गर्न तल्लिन छु : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू मन्त्रालयको जिम्मेवारीमा आउँदा कोभिड १९ ले मुलुक गाँजिएको र नेपालको राजनीति पनि कोभिड जतिकै संक्रमित भएकाले चाहेकोजस्तो काम गर्ने वातावरण प्राप्त नभएको बताएका छन् । तर पनि आफूले जिम्मेवारी पूरा गर्नमा तल्लिन रहेको उनले प्रस्ट पारेका छन् । 

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय सचिवालयका पदाधिकारीहरुसँग बुधबार विहान छलफल गर्दै मन्त्री गुरुङले त्यस्तो कुरा बताएका हुन् । आफू मन्त्रालयको जिम्मेवारीमा आएको दुई महिना पूरा भएपनि चाहेकोजस्तो काम अझै गर्न नसकेको उनले बताए । उनले कामको शुरुवात राम्रो भएको र केही परिणाम पनि हात लागिसकेको चर्चा गरे । नेकपा भित्रको विवाद पुस महिनाभित्र केही न केही निस्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे ।

आदिबासी जनजातिहरु आरक्षणमा मात्र सीमित भएर बस्न नहुने भन्दै उनले समयअनुकुल प्रतिस्पर्धी र क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् । अहिलेको समय प्रतिस्पर्धाको समय हो, हरेक चिजमा अब्बल नभएर अवसर प्राप्त हुँदैन मन्त्री गुरुङले भने, “आरक्षण कोटामा सीमित हुनुहुँदैन, आफ्नो दक्षता, योग्यता क्षमता बढाउनमा पनि ख्याल गर्नुपर्छ ।”

देशको समृद्धिमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले फोनिजमा आवद्ध जनजाति पत्रकारलाई आर्थिक समृद्धिको पक्षमा भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। नागरिकलाई सही, सत्य तथ्य सूचना पस्केर सुसुचित गर्ने काम मिडियाकर्मीको भएकाले उनले सबैलाई भूमिका खेल्न आग्रह गरे। आदिबासी जनजाति मिहिनेती र लगनशील समुदाय भएकाले पत्रकारले पनि त्यसअनुरुप काम गर्नुपर्नेमा उनले  सुझाव दिए ।

सरकारले गरेको राम्रो कामको प्रचार प्रसार र गलत कामको रचनात्क आलोचना गर्न उनले आग्रह गर्दै नकारात्मक पक्षलाई मात्र मिडियाले प्रचार प्रसार गर्दा नागरिकमा गलत सूचना प्रवाह भएको प्रष्ट पारे । आफू इमान्दार भएर काम गर्दा कसैसँग हेपिनु र थिचिनु जरुरी नभएको भन्दै उनले इमान्दार र लगनशील भएर काम गर्न आग्रह गरेका छन्  ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले दुई महिनाको कार्यकालमा मन्त्रालयको काम शुरुवात प्रशंसनीय भएको भन्दै मन्त्री गुरुङलाई बधाई तथा सम्मानपत्र ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । समानुपातिक विज्ञापन वितरण्का लागि विज्ञापन बोर्ड गठन हुनु, मिडियाकर्मीको प्रेस पास र प्रमाणपत्र जिल्लाबाटै लिने व्यवस्था गरिनु आफैमा प्रसंशनीय काम भएको भन्दै अध्यक्ष गुरुङले राम्रो कामको प्रसंशा गर्नमा आदिबासी जनजाति पत्रकारले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाए ।

गाउँ सहर डेस्क

तपाईँको मत