समाज

राष्ट्रपतिद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौँ । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन् ।

पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजा सहित सवा लाख दीप प्रज्वलन समेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताएका छन् । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकाल जानकारी दिए ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजन लगायत क्रियाकलाप भने तत्काल सुरु नगरिने भएको छ ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा. थापाले बताए । मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको जनाउँदै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा विरोध प्रदर्शन गर्दै आएका थिए । पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मंगलबार अपराह्न पशुपति प्राङ्गणमा विशेष पूजाआराधना गर्ने तयारी गरेका छन् ।

मन्दिर नखुल्दा फूलप्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द रहँदा कोषलाई करिब ७० करोड रुपैयाँ घाटा लागेको कोषले बताएको छ । नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको  कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत