अर्थतन्त्र

९१ लाख बराबरको गहुँ विक्री हुन सकेन 

हेटौँडा । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँको बीउ विक्री हुन सकेको छैन । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको थियो । हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको हाे । 

पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिएका छन् ।  बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब रु ९१ लाख रहेको छ । कार्यालयले गहुँको बीउ प्रतिकेजी  ६५  मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो । 

पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी रु ५५ सम्म बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको भनाइ रहेको छ ।बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न  लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइदैन । गहुँको बीउ बिक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधन पश्चात् अर्को बर्ष बिक्री गरिने कार्यालयका सूचना अधिकारी बताउँछन् ।

कार्यालयको कार्य क्षेत्र अन्तर्गत चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश  २ को बारा, पर्सा र रौतहट सहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो । किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधन पश्चात् बिक्री वितरण हुने गर्दछ ।

त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर मसान्तसम्म गहुँको बीउ बिक्री गर्दछ । गहुँको बीउ जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् ।  यस वर्ष बिक्री गरिएको एक हजार ४०८ मेट्रिक टन बीउबाट करिब ३८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ  ।

गाउँ सहर डेस्क

तपाईँको मत