शिक्षा

बजेट विनियोजन गरेर अतिरिक्त कक्षा सञ्चालन गर्ने 

बागलुङ । जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारणअवरुद्ध बनेको पठनपाठनलाई निरन्तरता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताएका छन् ।

कोरोनाले शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तिका लागि अतिरिक्त कक्षा लिन थालिएको हो । पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन र पाठ्यक्रम समयमै सक्नका लागि गाउँपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेको उनको भनाइ छ ।  

सरकारले शैक्षिक सत्र सकाउनका निम्ति निर्देशन दिएपछि समयमै पाठ्यक्रम नसकिने भएपछि विद्यार्थीको उच्च मनोबल बनाउन र सिकाइ बढवा दिन कक्षा शुरु गरिने गाउँपालिकाले जनाएको हो । 

पुस १ देखि कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताएका छन् । शर्माले चार महिना पढाइ रोकिएका कारण पाठ्यक्रम नसकिने भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर कक्षा सञ्चालनको थालनी गरेको बताए । 

अतिरिक्त कक्षा सञ्चालनका लागि गाउँपालिकाले तीन लाख ५० हजार छुट्याएको उनको भनाइ छ । उक्त रकमबाट शिक्षकलाई अतिरिक्त कक्षा लिए बापत प्रदान गरिनेछ । बन्दाबन्दीका कारण विद्यार्थीको पाठ्यक्रम नसकिने भयो, उनीहरुलाई सिकाइमा समस्या हुने हुँदा गाउँपालिकाले नै शुल्क तिरिदिने गरी कक्षा सञ्चालन गरिने भएको हो ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत शर्माका अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुनेछ भने बिहान एक घण्टा र बेलुका एक घण्टा अतिरिक्त कक्षा लिइनेछ । पुस १ गतेदेखि कम्तीमा दुई घण्टा विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्दा नौ वटा माध्यमिक विद्यालयका ७४० विद्यार्थी लाभान्वित हुनेछन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत