अर्थतन्त्र

सल्यानमा उत्पादित टिमुरले पाएन बजार

सल्यान । जिल्लामा उत्पादित टिमुरले बजार पाउँन सकेको छैन । टिमुरले बजार नपाएपछि व्यावसायिक रुपमा खेती गरिरहेका कृषकहरु टिमुरले मूल्य नपाएपछि निराश भएका छन् । गत वर्ष कात्तिक–मङ्सिरमै टिमुर बिक्री भइसकेको थियो । यो वर्ष भने टिमुरले मूल्य नपाएपछि किसानको घरमा नै थन्किएको हो । 

टिमुर खरिदका लागि व्यापारीहरु अहिलेसम्म नआएको किसानको भनाइ छ । आफूहरुले उत्पादन गरेको टिमुरले बजार नपाएपछि टिपेर घरमै राखेको छत्रेश्वरी गाउँपालिका– ५ महानेटाका कृषक मोहन केसीले बताउँछन् । “पोहर साल यतिबेला हामीले ७०० रुपैयाँ प्रतिकिलोसम्ममा टिमुर बिक्री गरेका थियौँ, अहिले टिपेर घरमै राखेका छौ बिक्री भएको छैन”, उनी भन्छन् । गत वर्ष रु ३ लाख बढीको टिमुर बिक्री गरेको उनी बताउँछन् ।

यो वर्षमा ३०० रुपैयाँ प्रतिकिलो बिक्री हुन गाह्रो भएको टिमुर उत्पादक किसान लोकबहादुर डाँगीले बताए । “मैले गहुँ, मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु, टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्, टिमुर बिक्रीबाटै गुजारा चलाउँदै आएको थिएँ, यो वर्ष टिमुर बिक्री नहुँदा धृरै समस्या भएको छ”, डाँगीले भने । गत वर्ष जिल्लाको टिमुर फ्रान्समा समेत निर्यात भएको भए पनि यो वर्ष बिक्री नभएको बनगाड कुपिण्डे नगरपालिका–९ का कृषक चक्रबहादुर डाँगी बताउँछन् ।  

जिल्लाकै लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर बिक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दहलगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार पाउन सकेको छैन । टिमुर खरिदका लागि व्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानको गुनासो छ । उत्पादित टिमुरलाई अग्र्यानिक टिमुरका रुपमा लिइन्छ । टिमुरखेती गरेर नै जीवन निर्वाह गर्दै आएका किसान टिमुर बिक्री नहुँदा ठूलो मारमा परेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत