प्रविधि

नेपाल–भारत उडान पुनः सञ्चालन हुने

काठमाडौँ । कोरोना सङ्क्रमण नियन्त्रणका लागिचैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् । आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउने भएका छन् । दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार पहिलो उडान निगमले गर्नेछ ।

 भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने उनले स्पष्ट पारे । यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने प्रतिक्रिया भारतलाई दिएको थियो ।

यसैबीच नेपालस्थित भारतीय राजदूतावासले पनि हवाई उडान फेरि सञ्चालन हुने जानकारी दिएको छ । “दिल्ली–काठमाडौँ नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । एयर इन्डिया र नेपाल वायु सेवा निगमले यी दैनिक उडान सञ्चालन गर्नेछन्”, दूतावासले राखेको सूचनामा उल्लेख गरिएको छ । साथै उसले टिकटका लागि सम्बन्धित देशको एयरलाइन्सको वेबसाइट हेर्न आग्रह गरेको छ ।

“दुई देशबीच एयर ट्राभल बबलका रूपमा उडान सुचारु हुन लागेको हो”, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने । एयर ट्राभल बबल भन्नाले नेपालबाट नितान्त नेपाली र भारतीय र भारतबाट नितान्त भारतीय र नेपाली नागरिकले हवाई उडानमार्फत आवतजावत गर्न पाउनेछन् । 

गाउँ सहर डेस्क

तपाईँको मत