विद्युत

 महानगरपालिकाले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । बत्ती जडान कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा  सहमतिपत्रमा हस्ताक्षर भएको थियो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले  सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की लगायतका क्षेत्रमा करीब रु १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने भएको छ । 

हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ क्षेत्रलाई व्यवस्थित र उज्यालो राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अघि बढेको बताएका छन् । धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा  कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको उनको भनाइ छ । कामपा प्रमुख शाक्यले यस कार्यले शहरी सौन्दर्य अभिवृद्धि गर्न  ठूलो सहयोग हुने बताए । 

कामपा क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।  चालु आर्थिक वर्षमा प्राधिकरणको ४० प्रतिशत लगानीका लागि आवश्यक रकम कामपाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । उक्त आयोजनाको निर्माण पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत