समाज

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ भने युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् ।

मेची राजमार्ग अन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे ४ प ८९४ नंम्बरको मोटरसाइकल सहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए । 

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको छ । मध्यरातमा दुर्घटना भएको स्थानीयवासीले अनुमान गरेका छन् । 

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत