खेल

प्रधानमन्त्री कप क्रिकेट : महिला र पुरूष टोली छनोट घोषणा

बैतडी। प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो ।

बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ । छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर बुडाल, केशव साउद, जगदीश चन्द, प्रकाश नाथ, जीतेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा भूपेन्द्र चन्द, वीरेन्द्र विष्ट र दीपेन्द्र भण्डारी छन् ।

छनोट गरिएका महिला खेलाडीमा मञ्जु बोकटी, आरती बोहरा, निर्मला बोहरा, बबिता बोहरा, अनिता नाथ, निर्मला भण्डारी, दिव्या कार्की, पूजा कार्की, मीना रावत, निशा भट्ट, भावना जोशी, सुनिता लोहार र दमयन्ती ओड रहेका छन् । यस्तै महिलाको वैकल्पिक खेलाडीमा रेनु पेला, तुलसी जोशी, मानवी विक र निर्मला रावल रहेका छन् । पुरुष टोलीको प्रशिक्षकमा शेरसिंह खत्री र महिला टोलीको प्रशिक्षकमा दीपेन्द्र बोहरालाई तोकिएको छ । छनोट भएको पुरुष टोलीले यही मङ्सिर २७ गतेदेखि कञ्चनपुरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्ने छन् भने छनोट भएके महिला टोलीले आगामी पुस ४ गतेदेखि कैलालीमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछन् । 

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशको टोली उक्त प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट हुने जनाइएको छ । क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौँमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत