सडक/यातायात

नवलपुर क्षेत्रलाई पोखरासँग सिधा सडक सञ्जालले जोड्न अपरिहार्य

पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी संघको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण कार्यक्रममा सहभागीहरुले नवलपुर क्षेत्रलाई सिधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएकाेमा जोड दिएका छन् ।

मङ्सिर २२ गतेदेखि सुरु भई जारी तीन दिने भ्रमणका क्रममा मङ्गलबार नवलपुरका गजेन्द्रमोक्षधाम, नन्दपुर लगायतका स्थानमा आयोजित अन्तरक्रिया एवम् भ्रमणका क्रममा यस्तो कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले गण्डकी प्रदेश सरकारले नवलपुर समेतलाई समेट्दै यहाँको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । प्रदेशमा दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने गरी त्रिवेणी – कोरला सडकलाई प्राथमिकताका साथ अघि बढाइएको गुरुङले जानकारी दिए । त्रिवेणी क्षेत्रलाई पर्यटकको प्रवेश विन्दुका रुपमा विकास गरिने उनले बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले पर्यटनमा साझेदारी बढाउने लक्ष्यका साथ धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण राखिएको बताए । नवलपुर क्षेत्रलाई सिधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएको बताउँदै उनले चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा देखिएको समस्यालाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षहरू डम्बरबहादुर केसी, सोमबहादुर थापा र चिरञ्जिवी पोखरेलले यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यको मौलिकता कायम गर्दै पर्यटन बजारमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए थिए । उनीहरूले सडक सञ्जाल सहज भएसँगै पर्यटकीय साझेदारीमा पनि टेवा पुग्ने विश्वास वक्ताहरुले  व्यक्त गरे ।

कार्यक्रममा नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सहज रुपमा जोड्नका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा परेको समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा त्रिवेणी विनय नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रितम गुरुङ,  गजेन्द्रमोक्षाश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष प्रकाश कुँवर, नन्दपुर मिलिजुली होमस्टेका अध्यक्ष ताराप्रसाद चौधरी लगायतले त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राखका थिए । त्रिवेणीबाट पोखरा आवागमन सहज बनाउन सडक सञ्जाल चााँडै जोडिनुपर्ने उल्लेख गर्दै उनीहरूले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्तीका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्ने कुरामा जोड दिए ।

गाउँ सहर डेस्क

तपाईँको मत