खेल

पोखरा रङ्गशालामा खेलकुद प्रतियोगिता हुने 

कास्की । लकडाउनको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकुद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकुद गतिविधि पुनः रङ्गशालामा फर्किएको छ ।नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् ।

पोखरामा पछिल्लो पटक फागुन अन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । गत वर्ष फागुन अन्तिम सातादेखि खेलकुद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए । वर्षभरिनै नियमित खेलकूदका प्रतियोगिता सञ्चालन हुने पोेखरा रङ्गशालामा लकडाउनको बन्दाबन्दीका कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बनेका थिए । 

आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट सङ्घले खेलाडी छनोेट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका छन् ।

मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा माछापपुच्छे र पोखरा क्रिकेट क्लबसहित अरण्यज्योति, साङ्ग्रिला, कास्की र राईजिङ्ग पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।

क्लबस्तरीय प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट सङ्घले जनाएको छ । महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’मार्फत खेलाडी छनोट गरिने भएको छ । आगामी पुुस १ देखि पोखरा रङ्गशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको एकएक टोली प्रधानमन्त्री कपका लागि छनोेट गरिने सङ्घले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत