अर्थतन्त्र

बिनाकारण तेलको मूल्यमा बृद्धि

काठमाडौँ । बजारमा विना कारण तेलको मूल्य बृद्धि गरिएको छ ।  कोरोनाका कारण काम र दाम गुमाएका उपभोक्तालाई महँगीको मारले झन् थिचेकोे छ । दैनिक उपभोग्य विभिन्न सामग्रीको मूल्य बढ्ने क्रममा पछिल्लो समय खाने लको मूल्य पनि अप्रत्याशित रूपमा बढेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला एक– डेढ साताको बीचमा खानेतेल प्रतिलिटर १० देखि ३० रुपियाँसम्म बढेको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण खाने तेलको मूल्य बढेकामा आफू अचम्मित भएको बताएका छन् ।
अहिले मूल्य बढ्नुपर्ने कुनै कारण छैन न त बजारमा कुनै समस्या छैन । पर्याप्त सामान आपूर्ति भइरहेको अवस्थामा पनि थोकमा नै मूल्य बढाइएको छ । मूल्य बढ्नुको कारणको खोजी बजार अनुगमन गर्ने सरकारी निकायले खोजेको पनि छैन । ”श्रेष्ठले भने ।

उनले थोक व्यापारीले बिनाकारण मूल्य बढाएकाले आफूहरू पनि मारमा परेको गुनासो गरे । उनले भने, “एकातिर सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाएका छैनाैँ । पुरानै मूल्य प्रिन्ट भएको सामान लिनुपरेको छ, अर्कोतिर उपभोक्ता प्रिन्ट हेरेर सामानमा बार्गेनिङ गर्छन् । ”

अध्यक्ष श्रेष्ठका अनुसार अहिले एक कार्टोन खानेतेल खरिद गर्दा एक सयदेखि १४० रुपियाँसम्म तिर्नुपर्छ । त्यो खुद्रा व्यापारीले तिर्नुपर्छ । थोकमा तिरेको मूल्यअनुसार बिल नपाएको विषयमा सरकारलाई पटकपटक भन्दा पनि सुनुवाइ भएको हुँदैन । सङ्घका अनुसार दुर्गड ब्रान्डका धारा हेल्थ सनफ्लावर, अमृत सोयाविन तेल, धारा तोरीको तेलको प्रतिलिटरमा २० देखि ३० रुपियाँसम्म मूल्य बढेको छ । केही समयअघि प्रतिलिटर एमआरपी २०५ रुपियाँ रहेको धारा हेल्थ सनफ्लावर तेल अहिले बढेर २३५ रुपियाँ पुगेको छ । यस्तै सोयाविन र तोरीको तेलमा पनि यसैगरी बढेको सङ्घले जनाएको छ । दुर्गड बढेसँगै हाल सबै ब्रान्डले तेलको भाउ बढाइसकेका छन् ।

नेपाल खाद्य किराना थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले थोक व्यापारीले बढेको मूल्यअनुसार बिलबिजक दिनलाई आफूहरूले पनि उद्योगीबाट पाउन नसकेको गुनासो गरे ।

नेपाल चामल तेल दाल उद्योग सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सङ्घका अध्यक्ष सुबोध गुप्ताले नेपालमा तेलको ९२ प्रतिशत र दालको ८५ प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा सानो असर पर्नेबित्तिकै मूल्य बढाउनुपरेको दाबी गरेका छन् ।

विभागका बजार अनुगमन निर्देशक सागर मिश्रले विभागले गत सातादेखि खानेतेलमा केन्द्रित भएर दैनिक आठ÷दसवटा पसलको अनुगमन गर्दा मूल्य महँगो भएको पाइएको जानकारी दिए । उनले तेल उद्योगमै महँगो भएको हो या यो थोक वा खुद्रा पसलमा महँगो भएको हो भन्नेबारेमा सूक्ष्म रूपमा अध्ययन भइरहेको पनि बताए । उनले तेलको भाउ कतिसम्म महँगो भइरहेको छ त्यसको वास्तविकता बुझ्ने काम विभागले गरिरहेको दाबी समेत गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत