विद्युत

नेपालको जलविद्युतमा रुसकाे लगानी 

काठमाडौँ । नेपालको जलविद्युतमा रुसकाे लगानी  गर्ने भएकाे छ । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ ।
नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले आज (मंगलबार) ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा व्यक्त गरेका छन् । 

रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंकले नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिएका छन् । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरण सम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको हो ।

नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो देखाएको थियो। रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने या नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो। प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताएका छन् ।

मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए । बढी भएको विद्युत निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकिएको मन्त्री पुनले बताएका छन् ।  आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत सिधै बाह्य बजारमा पठाउन सक्ने गरी लचिलो कानुनी प्रावधानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने बताएका छन् । हामीसँग भएको व्यवस्थामध्ये तपाईंहरुका लागि कुन मोडालिटी सहज लाग्छ। पुनले त्यसका लागि स्वागत गर्न तयार भएको बताए । साथै उनीहरुलाई विद्युत उत्पादन र बजार व्यवस्था गर्न समेत भनेका छन् । यदि बजार खोज्न भने आफै पनि बजारको व्यवस्था गरिदिने समेत प्रस्ट पारेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत