शिक्षा

हिंसापीडितको साहसका लागि सम्मान

काठमाडौँ । हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानका लागि सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका–२ की विजयादेवी यादवलाई सम्मान गरिएको हो । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि उनीहरुलाई जनही रु पाँच हजार सम्मान स्वरुप प्रदान गरिएको छ । हिंसापीडितलाई हौसला प्रदान गर्ने कार्यक्रम बमोजिम दहेजमुक्त मिथिला नेपालका अध्यक्ष करुणा झाले मण्डल र यादवलाई सम्मान गरेका हुन् । 

मुस्किल परिस्थितिमा पनि डटेर सामना गर्दै आफ्नै न्यायका लागि लगातार सङ्घर्ष गरिरहेकी यादव र मृत्युवरण गर्न बाध्य बनाइएकी सङ्गीता मण्डलका आरोपितलाई कारवाही गर्न देखाएको साहसका लागि उनकी आमा रधियादेवीलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । आँट, भरोसा र आशा दिनेभन्दा धम्क्याउने बढी भएकाले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरुले बताएका छन् । इन्सेक, दहेजमुक्त मिथिला, मैथिली साहित्य परिषद्, राजविराज जेसीज, नगर बाल सञ्जाल लगायतको मूल समारोह समितिको आयोजनामा राजविराजस्थित शहीद दशनचोकमा आयोजित कार्यक्रममा मण्डल र यादव सम्मानित भएका हुन् । 

गत भदौ २९ गते सामूहिक बलात्कारबाट पीडित १७ वर्षीया सङ्गीता मण्डलको अस्मिताको मूल्य तोक्दै पञ्चहरूले आरोपितलाई कारवाही गर्न रोकेपछि भदौ ३० गते आत्महत्या गरेकी थिइन् । मृतक सङ्गीताकी आमा रधियादेवीले न्याय दिलाउनुको साटो अस्मिताको मूल्य पञ्चहरूले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो गरिन् । वर्षौँदेखि घरेलु हिंसाबाट प्रताडित विजयादेवी यादवले न्याय पाउने आशामा सङ्घर्षबाट नथाकेको बताइन् । उनका पति सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेटघाट गर्न नदिएको गुनासो गर्दै यादवले विभिन्न सरकारी निकायमा पटक–पटक उजुरी दिएर धाए पनि न्याय नपाएको बताइन् ।

अब आउँदा दिनहरुमा कुटपिट नगर्ने भनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित सहमति गरे पनि शारीरिक र मानसिक यातना भोग्दै आएको  आम्दानीको स्रोत नभएको र सहमतिबमोजिम पठाउनुपर्ने रकम लकडाउनको मौका छोपी आठ महिनादेखि श्रीमान्ले नपठाएको यादबले बताएकी छिन् । 

सोही कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले संसार कोरोनासँग लडिरहे पनि गाउँ समाजसँग निरन्तर सङ्घर्ष गरिरहनुभएका पीडितहरूको खोजी गरी हौसला प्रदानका साथै जीविकोपार्जनका लागि व्यवस्था गर्न लागेको बताए । कार्यक्रममा सहप्राध्यापक अशोककुमार झा, मैथिली महिला परिषद्का पूर्वअध्यक्ष सुमित्रा दास, राजविराज जेसीजका अध्यक्ष पुनम पोखरेल, नगर बाल सञ्जालका अध्यक्ष अनिषा ठाकुरले पीडितहरूलाई हिंसाका विरुद्ध आवाज उठाउन र एक्लो महसुस नगर्न समेथ आग्रह गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत