स्वास्थ्य

चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्यामा बृद्धि

डडेल्धुरा । चिसो सुरु भएयता डडेल्धुराको अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो।  चिसो बढेसँगै निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको हो । जाडो सुरु हुनुभन्दा पहिले दैनिक ३०÷४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा अहिले दैनिक जसो ७०÷८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

डडेल्धुरा अस्पतालका अनुसार चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकी लगायत अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । चिसोले बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । मङ्सिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, ज्वरो आउने तथा अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको अस्पतालको भनाइ रहेको छ । 

चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकी लगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए। चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र वृद्धवृद्धालाई असर पार्ने भएकाले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानुपर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर विष्ट बताउँछन् । चिसोमा कोरोना भाइरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुका साथै रुघाखोकी लम्बिएमा वा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीले सुझाव समेत दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत