स्वास्थ्य

कैदीबन्दीमा रोगको प्रकोप

चितवन। कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यस ठाउँमा पठाउने हुँदा बिरामीको सङ्ख्या धेरै भएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर, नवलपारसी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका जिल्लाबाट बिरामी कैदीबन्दी पठाउने गरिएको छ । अहिले कारागारमा उच्च रक्तचापका ७३, मधुमेहका ६२, थाइराइडका ११, मुटुरोगी छ, एचआइभी एड्स सङ्क्रमित तीन, छारेरोगका दुई, पक्षघातका दुई, नसा, कुष्ठरोग र क्षयरोगका एक÷एक जना रहेको काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार बिरामीमध्ये सबैभन्दा धेरै चितवनका रहेका छन् । जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहान् पठाउने गरिएको उनले बताए । अहिले यस कार्यालयमा क्षमता झण्डै तेब्बर कैदीबन्दी रहेका छन् ।

 कारागारमा २५५ जना पुरुषको क्षमता रहेकोमा ६४४ पुरुष, २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ५५ महिला र २ आश्रित बालबालिका रहेका छन् । कैदीबन्दीहरूको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४८ लाख ७५ हजार खर्च गरेको थियो भने अहिले कोभिड–१९ सङ्क्रमणका कारण बजेट कटौती गरेको छ । अहिले उपचारका लागि रु २२ लाख विनियोजन गरेको काफ्लेले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत