अर्थतन्त्र

 उडान प्रभावित हुँदा पाँच अर्बको घाटा

काठमाडौँ । देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यो हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क  छ ।

कोभिड सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको  विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको थियो ।

विमानस्थलले मुख्यगरी ल्यान्डिङ र पार्किङबापत ठूलो आम्दानी गर्छ । यसबाहेक विमानस्थलभित्रका ठेक्कापट्टा, पसल कबोल, नेभिगेसन एड विमानस्थलका आम्दानीका अन्य स्रोत हुन् । विमानस्थलको आम्दानी घट्दा कतिपय साना किसिमका बजेट कटौती गर्नुपरेको क्षेत्रीले जानकारी दिएका छन्।

गाउँ सहर डेस्क

तपाईँको मत