शिक्षा

सियूजी सिम प्रयोग गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई टेलिकमकाे अफर

काठमाडौँ । नेपाल टेलिकमले सम्पूर्ण सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई पाठशाला सियूजी सिमको प्रयोग गरी फाइदा लिन आग्रह गरेको छ । टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियूजी सिम ’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो ।

सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट https//learning.cehrd.edu.np चलाउन पाँच जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएस समेत पठाउन सक्ने टेलिकमले जनाएको छ । 

यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला पाठशाला सियूजी सिम लिन सक्नेछन् । यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै प्रयोग भएको प्रिपेड सिमकार्डलाई  पाठशाला सियूजीमा आबद्ध गर्न सकिने छ । टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।

विद्यार्थीको लागि सिमकार्ड लिंदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सकिनेछ ।

विद्यालयले पाठशाला सियूजी सिममा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सियूजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएस मार्फत जानकारी उपलब्ध हुनेछ ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको Closed User Group (सियूजी) मा आबद्ध गरी मासिक जम्मा रु. ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (whttps//learning.cehrd.edu.np) चलाउन पाँच जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (https//learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्य सामग्रीहरु उपलब्ध हुन्छ । 

पाठशाला सियूजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सियूजी सिम लिन सक्नेछन् । यस सेवाबाट फाइदा लिनुहुन सम्पूर्ण सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई टेलिकमले अनुरोध गरेको छ ।

यस सम्बन्धी थप जानकारीका लागि नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न वा कम्पनीको वेबसाइट www.ntc.net.np मा रहेको पाठशाला सियूजी अफर सम्बन्धी सूचनाको लिंक https://www.ntc.net.np/post/paathshala-cug-sim-distribution मा हेर्न सकिन्छ टेलिकमले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत