स्वास्थ्य

कोरोना खोपको प्रतिश्पर्धा : मोडेर्नापनि ९४% प्रभावकारी रहेको दावी, नयाँ वर्षसँगै कोरोना नियन्त्रणमा आउने संकेत

काठमाडौँ । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएसँगै विश्वमा थोरै राहत थपिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ । बेलायतले यसको प्रयोग केही दिनमै सुरु गर्नेछ ।

बेलायतको स्वास्थ्य नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले यो खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । फाइजर र बायोएनटेकले करिब १० महिना अवधिमा खोप बनाएका हुन् । यो ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ ।

यो खोप माइनस ७० डिग्री तापक्रममा मात्र भण्डारण गर्न सकिने कम्पनीले बताएको छ । त्यसलाई सुख्खा आइसमा विशेष बाकसमा राखेर मात्रै एक ठाउँबाट अन्यत्र लैजानुपर्ने हुन्छ । विज्ञहरूले भने खोप सुरु भएपछि पनि सतर्क रहनुपर्ने बताउँदै आएका छन् ।

यता अर्को अमेरिकी कम्पनी मोडेर्नाको भ्याक्सिनबाट शरीरमा शक्तिशाली एन्टिबडीज बनेको दावी गरिएको छ । जुन कमसेकम ३ महिनासम्म रहने उनीहरूले बताएका छन् ।

नेशनल इन्स्टिच्यूट फर एलर्जी एण्ड इन्फेक्शियस डिजीजका ३४ वयस्कमा यो खोप दिएर अनुसन्धान गरिएको कम्पनीले बताएको छ । साथै विज्ञले यो खोप कोरोनाबाट बचाउनको लागि ९४% प्रभावकारी रहेको बताएका छन् । फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनको एप्रूभल अब मिल्न सक्ने पनि उनीहरुले बताएका छन् ।

विश्वमा झण्डै ७ करोड मानिसहरु कोरोनाभाइरसबाट प्रभावित भइरहेको यो विषम परिवेशमा यी दुई खोपले विश्वलाई आशा जगाइदिएको छ । नयाँ वर्षमा कोरोना खोपको घोषणा गरेका वैश्विक स्वास्थ्य संस्था र धनी देशहरुको कुरा साँचो हुने संकेत हाे याे !

गाउँ सहर डेस्क

तपाईँको मत