गाउँ सहर

गाँजा अब विषबाट बुटी ? ‘हानिकारक लागुऔषध’ बाट ‘औषधिजन्य वनस्पति’ का रूपमा स्वीकार

काठमाडाैं । गाँजा र भाङलाई ‘शिवको प्रसाद’ भन्दै ग्रहण गर्नेको संख्या ठूलो छ । गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले अझ युवापुस्ताका लागि भने शिवरात्री ‘शिव बुटी’ वा ‘शिवको प्रसाद रूपमा सेवन गर्ने चलन छ । शिवरात्रिका दिन त लुकीचोरी गाँजा सेवन गर्ने परम्परा नै बनिसकेको छ ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीमै राखिरहने कि हटाउने भन्ने विषयमा राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले गरेकाे मतदानमा हटाउनुपर्ने पक्षमा बहुमत सदस्यले मतदान गरेका छन् । 

बुधबार भएको मतदानमा यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ मुलुकले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका छन् । मतदानसँगै गाँजालाई राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागुऔषधको सूचीबाट हटाएको हो ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेको छ ।

त्यस्तै पक्षमा मतदान गर्नेमा अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायत मुलुक छन् ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउन नहुने पक्षमा मत हाल्नेमा ब्राजिल, चीन, अफगानिस्तान, पाकिस्तान, जापान, इराक, लिबिया, रुस, क्युबा, हंगेरीलगायत मुलुक छन् । मतदानमा युक्रेन भने अनुपस्थित रहेको थियो ।

राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोगले सन् १९६१ महासन्धिको अनुसूची ४ मा रहेको गाँजालाई अनुसूचीमा १ मा छुट्टै राख्ने गरी संशोधन गरेको हो । यसको अर्थ गाँजालाई वैधानिकता प्राप्त भएको भने होइन । यो व्यवस्थाबाट गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदै यसको औषधिजन्य गुण र वनस्पतिका रुपमा लिने विषयको वकालत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिकाले गाँजाको सुरक्षित र प्रभावकारी प्रयोग भए यसले विभिन्न रोगको निदानमा सघाउन पुग्न सक्ने बताएको छ । त्यस्तै विपक्षमा मतदान गरेको जापानले भने गाँजाको गैरचिकित्सकीय प्रयोगले स्वास्थ्यमा मात्रै नभएर सामाजिक रुपमा समेत प्रभाव पार्ने बताएको छ । यसले विशेष गरी युवा पुस्तालाई असर पुग्ने जापानको तर्क छ ।

विश्वमा वैधानिक र अवैधानिक रुपमा गरी गाँजाको ठूलो कारोबार हुने गरेको बताइन्छ । कोवेन बैंकले गरेको एउटा अध्ययन अनुसार सन् २०२५ सम्म चिकित्सकीय प्रयोग र रमाइलोका लागि समेत गरी करिब ३४ अर्ब अमेरिकी डलरबराबरको गाँजा खपत हुने अनुमान गरिएको छ ।

नेपालमा गाँजा बहस

गाँजा आँगन, करेसाबारी, वनपाखा जताततै गाँजा आफैं उम्रिन्छ । नेपालमा कति मानिसले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन, तर हरेक गाउँमा रैथाने गाँजाका अम्मलीहरू थुप्रै भेटिन्छन् । सरकारद्वारा गाँजा प्रतिबन्धित भएका कारण यसको ओसारपसार लुकीछिपी हुन्छ । बिक्रीमा घोषित प्रतिबन्ध छ तर सहरमा किनबेच रोकिएको छैन । यसको खेती गर्नु गैरकानुनी हुन्छ । त्यसकारण प्रहरीले बेला–बेला गाँजा नष्ट अभियान चलाउँछ । 

नेकपाका अर्का नेता केशव स्थापित पनि लामो समयदेखि गाँजामाथि प्रतिबन्ध फुकुवा माग गर्दै आएका छन् । स्थापितले त यसलाई समृद्धिको मुद्दासँग जोडेर चर्चा गर्दै आएका छन् । उनी भन्छन्, ‘कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय १५ रुपैयाँ पुगेको छ । उनीहरूले हामीसँग भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर त्यसको उत्पादन आफैंले गरिरहेका छन् । यसरी हामी झन्पछि झन् गरिब र उनीहरू धनी भइरहेका छन् ।’ 

मकवानपुरका सांसद विरोध खतिवडाको समर्थनमा पूर्वकानुनमन्त्री तथा सांसद शेरबहादुर तामाङले गाँजा खेती गर्न छुट दिनुपर्ने भन्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेका थिए । तामाङले गाँजा खेतीलाई कानुनी मान्यता दिएर रोजगारी सिर्जना गर्नुपर्ने बताएका थिए । उनले विधेयकको उद्देश्य र कारणमा लेखेका छन्, 'गाँजाको उपयोग औषधि निर्माण तथा यसको रेसाबाट कपडालगायत सामग्रीको उत्पादन गर्न सकिने र डाँठ फर्निचर बोर्ड तथा इँटासमेतका लागि उपयोगी हुन सक्ने गुण रहेको छ ।'

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले १९ फागुनमा प्रतिनिधिसभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी गैर–सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) दर्ता गरेका छन् । यो विधेयकले कानुनी रुपले लिए नेपाली अर्थतन्त्रमा ५०/६० खर्बको योगदान पुग्ने दाबी गरिएको छ ।

गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुने र यसले जलवायु परिवर्तनलाई समेत न्यूनीकरण गर्ने, अमेरिका र क्यानडाका केही राज्यमा गाँजा खेतीलाई कानुनी मान्यता पाएको बताउँदै नेपालले पनि यसको व्यावसायकीकरण गर्नुपर्ने सांसद तामाङकाे तर्क छ ।

गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रकै मेरुदण्ड थियो । त्यसैले अब गाँजा खुल्ला गर्दा कृषकहरू धनी हुन्छन् भन्ने तर्क पनि सुनिन्छ । कतिपय भने गाँजा अफिसबाट लाभ लिने भनेको तस्कर, दलालले मात्रै हुने बताउँछन् । 

त्यसमा क्यानडा पछिल्लो देश हो, जहाँ केही महीना अघि मात्र औषधि र मनोरञ्जनका लागि गाँजाको सेवन र बिक्री–वितरण खुला गर्ने कानून संसदबाट पारित भएको छ । 

क्यानडामा सन् १९२३ देखि गाँजा प्रतिबन्धित थियो । उक्त प्रतिबन्ध आंशिक हटाउँदै सन् २००१ मा गाँजालाई औषधि प्रयोजनमा खुला गरिएको थियो । अब भने प्रान्त र नगरपालिकाहरूमा गाँजा बिक्री–वितरण केन्द्र स्थापना हुनेछन् भने एक परिवारले गाँजाका चार वटासम्म बोट रोप्न पाउनेछन् । गाँजा सेवन र किनबेचका लागि १८ वर्षको उमेरसीमा तोकिएको छ । यसको नियमन गर्ने कानून बनाउने अधिकार प्रान्तहरूलाई दिइएको छ ।

नेपालमा कुनै बेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । सदियौंदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे । सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भएपछि औषधि उत्पादन हुन छाडे। आयुर्वेदिक अनुसन्धान पनि बन्द भयो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ ।वैद्यखाना आफैंले गाँजाजन्य ओखती उत्पादन गर्थ्यो। निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको वैद्यखानाको रेकर्डमा छ ।

गाँजाले मान्छेको स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । कतिपय रोगमा गाँजाले औषधिको काम गर्ने ती अनुसन्धानको निष्कर्ष छ। खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता स्वास्थ्य समस्याको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

शल्यक्रिया गर्दा औषधिले बेहोस पार्न नसकिने बिरामीलाई गाँजाले लठ्याउन सकिने अनुसन्धानको निष्कर्ष छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको अनुसन्धानले गाँजालाई ९८ प्रतिशत औषधिजन्य वनस्पति हो भनेर प्रमाणित गरेको छ । यसको बोटानिकल नाम क्यानाबिस स्याटिवा हो । आयुर्वेदमा समेत गाँजाको औषधिय महत्व छ । 

आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । औषधि बन्ने क्रममा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ । 

गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ ।

‘शिवले खान हुने हामीले नहुने ?’ 

‘शिवले खान हुने हामीले नहुने ?’ भन्दै नशाको प्रयोग गर्ने गरेका छन् । अब प्रश्न उठ्छ- भगवान शिवले यस प्रकारका नशायुक्त पदार्थको सेन किन गरेको होला ? वास्तवमा यसको पछाडि एक कथा लुकेको छ । 

कथा अनुसार देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किरहेको थियो । 

पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लगे । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक  थियो । त्यसको एक थोपाले पनि पृथ्वीमा  ठूलो हानी पुर्‍याउन सक्थ्यो । श्रृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो । अब समस्या पर्न गयो कि यो विष कसले पिउने ?

यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गरे । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्न सामर्थ्य राख्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिए ।  

शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले समातिन् । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ । 

विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।

भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै  शिवको सही अर्थमा आराधना हो ।

गाउँ सहर डेस्क

तपाईँको मत