प्रविधि

 ग्यास गिजर प्रयोग गर्नुहुन्छ ? यी कुरामा ध्यान दिऊँ

काठमाडौँ । जोडो मौसममा कोठा तातो बनाउनका लागि हिटरको प्रयोग गर्ने गरिन्छ । तर त्यही तातो कहिँलेकाहीँ काल बन्न सक्छ । 

हिटर तथा गिजर चलाउँदा कोठामा हावा ओहोरदोहोर हुने गरी झ्याल खोल्ने गरेमा मानिसको ज्यान नजाने वरिष्ठ फिजिसियन डा. अर्जुन कार्की बताउँछन् ।  कोठा तातो होस् र बाहिरी हावा नछिरोस् भनेर झ्याल बन्द राखेर हिटर बाल्दा अन्तिममा त्यही मृत्युको कारक बन्छ  ।

हामीले सास फेर्दा अक्सिजन फोक्सोमा पुग्छ र रगतमा हुने हेमोग्लोबिन भन्ने तत्वसँग घुलिन्छ। हेमोग्लोबिनसँग मिसिएको अक्सिजन रगतको माध्यमबाट शरीरका विभिन्न कोष, तन्तु, मुटु र मस्तिष्कसम्म फैलिन्छ। अक्सिजनले हाम्रो कोष र तन्तुलाई जीवित राख्ने काम गर्दछ ।

होसमा हुँदा थोरै असजिलो भए पनि हामी झस्किन्छौं। तर तातोको मात्रा बढ्दै जाँदा कोठामा ग्यासको मात्रा बढ्न थाल्दछ । त्यसपछि हामी झुम्म महसुस गर्छौं। सास फेर्न अप्ठ्यारो हुन्छ। हातखुट्टा झमझमाउन थाल्छ। मान्छे आलसतालस देखिन्छ । ‘निदाएका बेला शरीर प्रतिक्रिया विहीन र अर्धचेत हुन्छ र शरीर क्रमश  निष्क्रिय हुँदै जान्छ ।

उनका अनुसार शरीरका कोषमा भएको कार्बनडाइ अक्साइड बोकेर ल्याउने काम त्यही हेमोग्लोबिनले गर्छ। त्यसलाई फोक्सोसम्म ल्याएर श्वासनलीबाट बाहिर पठाउँछ ।

उनी भन्छन् — हेमोग्लोबिनमा अचम्मको गुण हुन्छ। यसले अक्सिजनसँग भन्दा कार्बनमोनो अक्साइडसँग राम्रो ‘बोन्डिङ’ गर्छ। बुझ्ने भाषामा भन्दा, अक्सिजनसँग भन्दा कार्बनमोनो अक्साइडसँग यसको घुलमिल धेरै हुन्छ ।

 डा. कार्कीका अनुसार कार्बनमोनो अक्साइड हेमोग्लोबिनसँग मिसिएपछि त्यो ठाउँमा फेरि अक्सिजन पुग्न गाह्रो हुन्छ। शरीरमा कार्बन मोनो अक्साइड फैलिएको थाहा पाउँदा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ। त्यस्ता बिरामीलाई धेरैभन्दा धेरै अक्सिजन दिएर शरीरमा फैलिएको कार्बनमोनो अक्साइड हटाउनुपर्छ।’

हेमोग्लोबिनसँग मिल्ती हुने स्वभाव भए पनि कार्बनमोनो अक्साइड शरीरका लागि यो घातक हुन्छ। यस्तो घातक ग्यास शरीरभरि फैलिएपछि मानिसका कोष, तन्तु निष्क्रिय हुन थाल्छन्। मस्तिष्कले काम गर्न छोड्छ। मुटु अचेत हुन्छ। समयमै उपचार नपाए मानिसको मृत्यु समेत हुन्छ ।

सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ । होस हराउँदै जान्छ र मानिस बेहोस हुन्छ । बेहोस बिरामीलाई तुरुन्त खुल्ला ठाउँमा वा अक्सिजन भएको ठाउँमा लैजानु आवश्यक हुन्छ । पर्याप्त अक्सिजन पाएमा बिरामीलाई मृत्युको मुखबाट बचाउन सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत