प्रविधि

पशुपतिमा आधुनिक वातावरण मैत्री शवदाह गृह सञ्चालन


काठमाडौं । पशुपतिमा आधुनिक वातावरण मैत्री शवदाह गृह सञ्चालन गरिएको छ ।  मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।

शुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरेको हो । मन्दिर परिसमा विद्युतीय शवदाह गृह पहलेदेखि नै सन्चालनमा छ ।

 कोरोनाको महामारीमा शवदाह गृहमा कोरोना संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । तर हिन्दु परम्पराअनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले दाउराबाटै शव जलाउँदै आएका छन् ।

हाल स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार जीवित रहने अपेक्षा कोषको रहेको छ । उक्त मेसिनको प्रयोगले वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको कोषले जनाएको छ । 

कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको कार्यक्रममा बताए ।

त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयको सरोकार समेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रुप दिने काम भइरहेको छ उनले बताए । 

 

गाउँ सहर डेस्क

तपाईँको मत