प्रविधि

ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन कक्षाको सुरुवात

काठमाडौ । ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई  ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गतेदेखि अनलाइनमार्फत कक्षा सुरु गरेको छ । महाशाखाले ट्राफिक चालकहरुलाई सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको हो । ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयम् बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिन लागेको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागि घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताएका छन् ।

उनले “रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुने, यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन कारबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरेको जानकारी दिए” ।

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो। यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिँदै आएकोमा अबदेखि ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था समेत गरेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत