अर्थतन्त्र

राष्ट्र बैंकले बजारबाट किन पैसा तान्न सकेन ?

काठमाडौं । यो समय बैंकिङ क्षेत्र अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका छन् । बैंकहरुले लगानी गर्ने ठाउँ नभएर आफ्नो लगानी योग्य पुँजीलाई  निष्क्रिय रुपमा राख्नुपर्ने अवस्थामा छन् । छोटो अवधिको स्ट्यान्डर्ड ब्याजदरको रुपमा लिइने ९१ दिने ब्याजदर अहिले ०.३९ विन्दुमा ओर्लिएको छ । राष्ट्र बैंकको ब्याजदर करिडोरको तल्लो तह नै एक प्रतिशत रहेको छ । अहिले  बजारमा अढाई सय अर्ब बराबरको  तरलता रहेको राष्ट्र बैंकले बताएको छ । 

यो हिसाबले तरलता बढ्दै जाँदा राष्ट्र बैंक आफैं निस्कृय भएर बसेको छ । पहिले तरलतालाई व्यवस्थापन गर्न हप्तैपिच्छे रिपो र रिभर्स रिपो जारी गर्दै आएको राष्ट्र बैंक अधिक तरलता भएको यो समयदेखि निष्क्रिय भएको हो । 

राष्ट्र बैंक निष्क्रिय हुनुको कारण  राष्ट्र बैंकको आम्दानी हो । अघिल्लो वर्ष राष्ट्र बैंकले विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको वण्डमा लगानी गरेर लगभग ३७ अर्ब रुपैंया आम्दानी गरेको थियो । तर यो वर्ष यस्तो आम्दानी ३१ अर्ब रुपैंयामा सीमित रहेको  छ ।  कोभिडको असर बढ्दै जाँदा यो आम्दानी २५ अर्बसम्ममा झर्नसक्ने राष्ट्र बैंकले अनुमान गरेको छ । यसरी आफ्नै आम्दानी घट्दै जाँदा खुला बजार हस्तक्षेप (ओपन मार्केट अपरेसन) बाट आम्दानी झनै घट्ने भएकोले राष्ट्र बैंकले यसमा सुस्तता देखाएको हो । 

राष्ट्र बैंकको आम्दानी घटेकै कारण पर्याप्त रुपमा बजार हस्तक्षेप गर्ने अवस्था नभएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको भनाइ छ ।  बैंकको आम्दानी घटिसकेको छ, अझै घट्न सक्छ । बजारबाट तरलता तान्दा त्यसको न्यूनतम ब्याज बैंकहरुलाई तिर्नुपर्छ, यसले आम्दानी झनै घटाउँछ,’  ‘हामीले बजार हस्तक्षेप गर्न नसक्नुको एउटा कारण यो हो ।’शिवाकोटीले भने । 

गाउँ सहर डेस्क

तपाईँको मत