गाउँ सहर

आक्रमणमा ४३ किसानको ज्यान गयो

माइदुगुरी । बोको हराम समूहले ४३ जना किसानको हत्या गरेको छ । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी  किसानको हत्या गरेको हो । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा छ जना घाइते भएका छन् ।

बोको हराम विरुद्धको प्रतिकार समितिका एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको एएफपीलाई जनाएको छ । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । उनले भने — यो अमानवीय हत्याबाट सिँगै मुलुक स्तब्ध भएको छ ।’

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको शब फेला पारेको र अरु ६ जना गम्भीर अवस्थामा भेटिएको बताए ।उक्त समूहले यस क्षेत्रमा बेलाबेला जघन्य आक्रमण गर्ने गरेको हुँदा यस पटकको आक्रमण पनि उनीहरुले नै गरेको दाबी गरेका छन् । 

 मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेका छन् । स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको जनाए ।

अन्य आठ जना बेपत्ता भएको हुँदा उनीहरुलाई बोको हरामका लडाकूले अपहरण गरेको आशंका गरिएको लिमानले बताए । अघिल्लो महिना पनि माइदुगुरी नजिकै सिँचाईको काम गर्ने बोको हरामका लडाकूहरुले २२ मजदुरको विभत्स हत्या गरेका थिए ।

 

गाउँ सहर डेस्क

तपाईँको मत