स्वास्थ्य

‘तीन हजारको ज्याकेटले नतात्या ज्यान बरू तीन सयको ...ले रनक्कै पार्छ’

"तीन हजारको ज्याकेटले नतात्या ज्यान बरू तीन सयको रक्सीले रनक्कै पार्छ । थकान पनि सञ्चाे, जीउ पनि तात्ने" 

शुक्रबार साँझ काठमाडाैंकाे चाबहिलबाट मैजुबहाल गल्लीभित्रकाे एउटा हाेटलमा छिर्नासाथ ३ पुरूषबीचकाे संवाद हाे । नभन्दै उनीहरूले झण्डै पाैने घण्टामा ४ सय ५० लाेकल रक्सी र भटमास, अचार खाएर निस्किए ।

याे त एउटा प्रतिनिधि घटना मात्रै हाे । दिनहुँ यसरी साँझ रक्सी खान ठूला हाेटल रेष्टुरेन्टदेखि चेपका खाजाघर बस्नेहरू कमी छैनन् । काेराेनाका कारण कमी छ तर शून्य भने हाेइन । 

यो वर्ष छिटै जाडोयाम सुरु भएको छ । जाडोमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यसको लागि धेरै उपायहरु अपनाउने गरिन्छ । कतिपय मानिसले जाडोयाममा शरीर न्यानो बनाउन भनेर माथिजस्तै मद्यपान गर्ने गदर्छन् । यसरी मद्यपानको सहयोगमा शरीर न्यानो बनाउनलाई मदिरा पिउनु भ्रममात्र भएकाे चिकित्सकहरु बताउँछन्  । न्यानोको अनुभूति हुने गरेपनि त्यो भ्रममात्र भएको बताउँछन् चिकित्सक ।

चिकित्सहरुका अनुसार मद्नयपानका कारण शरीर चिसो हुन्छ तर तातो होइन । यसैले यो मौसममा मद्यपान गरेर राति बाहिरै चिसोमा ढलेकाहरुलाई शीताङ्ग (हाइपोथर्मिया)ले गर्दा भोलिपल्टसम्म मृत्यु हुन पनि सक्छ । चिसो मौसममा हाम्रो शरीरमा मुटुको चालमा वृद्धि हुन्छ । शरीरका मांसपेशीहरुले प्रत्येक अंगलाई न्यानो बनाई राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो समयमा रक्त प्रवाहसमेत कम हुन्छ । जसका कारण खुट्टा र हत्केलामा चिसोको अनुभूति हुन्छ ।

यस्तो समयमा मद्यपान सेवन गर्दा हात र खुट्टाका रक्तनलीहरू फैलिन थाल्छन् । जसबाट मद्यपान सेवनकर्ताहरुमा हातखुट्टा तात्दै गएको भ्रम हुने गर्छ । भ्रमका कारण रक्सी खाएर सडकमै आफूलाई समाल्न नसकेर ढलेकाहरुलाई हाइपोथर्मिया भइ ज्यान पनि गुमाउन सक्छन् । हाइपोथर्मियाका कारण नेपालमाा बर्सेनी धेरै मानिसहरुको ज्यान गएको छ ।

हाइपोथर्मियाका लक्षण स् –चिकित्सकहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम भएमा हातलाई काम गर्न असजिलो हुने र शरीर थाकेको अनुभव हुन्छ । –दुईदेखि चार डिग्रीसम्म तापक्रमकम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन् । –शरीर पहेंलो हुँदै जाने, ओठ र कान नीलो देखिन थाल्ने आदि हुने गर्दछ । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । –यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले काम गर्न छोड्छन् ।

बरू चिकित्सहरू रक्सी नखान सुझाव दिन्छन् । जाडाेबाट बच्न न्यानो भई बस्ने ( एउटा बाक्लो कपडा लगाउनुभन्दा तीन चार वटा कपडा लगाउने ), तातो खाने (जंकफुड नखाने), झोल कुरा धेरै खाने, मनतातो पानी पिउने, एकै ठाउँमा बसिनराख्ने (शरीरलाई चलायमान गराउने ), रक्तचाप जाँच गरिराख्ने, मुटुको औषधि खानेहरुले त्यसलाई निरन्तरता दिने, शारीरिक अभ्यास गर्ने तर न्यानो बनेर, स्वस्थ वातावरणमा व्यायम र प्राणायाम गर्ने, धेरै समय चिसोमा नबस्ने जस्ता उपायहरू अपनाउन सुझाव छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत