गाउँ सहर

काेराेना घरघर छिरिसकेकाे छ; थप सचेत बनाैँ, हेलचेक्राइँ नगराैँ

काठमाडौँ । कोरोना यहाँ छैन भन्नु अब हाँस्यास्पद हुन्छ । अब यसरी चाहिँ भनौँ र बुझौँ—कोरोना कहाँ छैन ?

महिना दिन अगाडि भन्दा आज गाह्रो र भोली झनै गाह्रो हुने आंकलन चिकित्सकहरुले गर्न थालेका छन् । चाडबाडको मौसमले गाउँदेखि सहर अनि सहरबाट गाउँ जानेको संख्या ह्वात्तै बढेको छ । संक्रमण यताबाट उता र उताबाट यता भइनैरहेको प्रत्यक्ष उदाहरण हो काठमाडौँ उपत्यका ।

विभिन्न वाध्यताका बाबजूद हामीले दुरी कायम र स्वास्थ्य मापदण्ड नमान्नाले नै कोरोना कहर झनै झाँगिदै गएको स्पष्टै छ । उपत्यकाका विभिन्न ठाउँमा जमघट भइरहेका छन् । तर उक्त ठाउँमा दुरी कायम गरेको देखिँदैन, सही तरिकाले मास्कको प्रयोग गरिएको पाइँदैन । धेरैले यी कुरालाई बेवास्ता गरिरहेका छन् । जनस्वास्थ्यका मापदण्ड सही तरिकाले पालना गरेसम्म सक्रमणलाई नियन्त्रण गर्न नसिकने स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । जसमध्ये उपत्यकाका मात्रै २६ हजार ७ सय ४१ जना संक्रमित रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ । 

पछिल्लो समय भिआइपी क्षेत्र, नेता, सल्लाहकार, व्यापारी, समाजसेवी, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ह्वात्तै फैलिएको छ । हुँदाहुँदा घरका वृद्धवृद्धा तथा केटाकेटिमा हामी आफ्नै असावधानीले कोरोना सारिरहेका छौँ । जित्नेले जितेका पनि छौँ तरपनि हामी होशियारी अपनाउनमा चुकेका छौँ, हेलचेक्राइँ बढेको छ । जसको कारण पनि कोरोना अहिले घरघरमा पुर्याएका छौँ र सबैको ज्यानलाई जोखिम बढाएका छौँ ।

हुन त यो भाइरस नचाहेरै पनि घरदैलोमा पुगको छ । किनकी मर्दापर्दा भेट हुनैपर्ने, विवाह-न्वारन-वर्थडे-एनिभर्सरी हामीलाई मनाउनै पर्ने, अस्पतालमा विरामी हेर्न जानैपर्ने, नगए माया गरेन, गर्दैनरहेछ भन्ने हाम्रो संस्कारले पनि कोरोना घरघरमा भित्राउनमा मद्यत गरिरहेको कसैबाट छिपाउन सकिन्न । आज हेर्नुहोस प्रधानमन्त्री निवास, अस्पताल, राजनीतिक दलका कार्यालय, भिड हुने बजार, चिया पसल हाम्रा कोरोनाका गौँडा भएका छन् । झनै यसैबिचका आन्दोलनले झनै कोरोना सरल र सहज बनाइदिएको छ ।

हुन त निराशै हुनुपर्ने अवस्था त होइन ६० हजार माथिले त कोरोना जितेका पनि छन् । जितेका युवाले यो कोरोना केहि होइन भनेका पनि छन तर वृद्ध र रोगीले यो रोगबाट छुटकारा पाएपछि हेलचेक्राइँ नगरौँ पनि भनेका छन् । यसर्थ कोरोनालाई हामीले अहिलेको परिपेक्ष्यमा गम्भीर रुपमा लिनै पर्छ किनकी हामीसँग अरु विकल्प अहिलेसम्म छैन ।

सचेत बनौँ, सरकारलाई खबरदारी पनि गरौँ तर सावधानी अपनाउने आफूले हो जोगिएर कोरोनासँग लडौँ । ज्यान रहे जहान जतिपनि हुन्छ तर ज्यानै नरहे के गर्ने ? तसर्थ स्वास्थ्यमा हेलचेक्राइँ नगरौँ, जोगियौँ र जोगाऊँ । जबसम्म प्रभावकारी भ्याक्सिन उपलब्ध हुँदैन यो हाम्रो संघर्ष यसरी नै गर्नुपर्नेछ ।

दिक्क पनि नमानौँ र हतास पनि नहौँ, मिलेर सामना गरौँ । व्यवहार चलाउँ तर सुरक्षित भएर । संक्रमितप्रतिको व्यवहार बारेमा सोचौँ, सल्लाह गरौँ र आत्मबल बढ्ने कार्य गरौँ, परीक्षण र उपचार बढाउँ, नतिजा चुस्त बनाउँ जसले गर्दा हामी कोरोनालाई जित्न सक्छौँ । सहरमा मात्र सुविधा नथपाैँ गाउँमा पनि समान व्यवहार गराैँ ।

गाउँ सहर डेस्क

तपाईँको मत