गाउँ सहर

सेल्फी खिचाएर फर्किए जनकपुर ल्याइएका रेल

काठमाडाैं । शुक्रबार जनकपुर रेल आइपुग्नासाथ गुडेकै ठाउँमा सेल्फी खिच्नेका तछाडमछाड देखियाे । नेपालको आफ्नै रेल शुक्रबार जनकपुर आइपुग्दा त्यस ठाउँका नागरिक मात्र होइन, सबै नेपाली उत्साहित भए । अहिले फेसबुकदेखि मिडयाहरूमा पनि रेलकै टीकाटिप्पणी भइरहेकाे छ । 

शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरले रेल नेपाल ल्याएर आएका थिए। नेपाललाई रेल हस्तान्तरण गर्न भारत कंकोणका अरू १६ जना कर्मचारी पनि त्यही रेलमा जनकपुर आएका थिए ।  

शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन् । रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन् ।

नेपालमा रेल चलाउने कर्मचारी र कानुन नभएकाले उनीहरूले रेल भारततिरै लिएर गएकाे बुझिएकाे छ । 

नेपालकाे रेल विभागले एक साताअघि  रेल चलाउन १ सय ३० जना कर्मचारीको विज्ञापन खुलाएको छ ।

त्यसैगरि जयनगर-जनकपुरमा रेल चलाउन कर्मचारी र कानुन नै छैन । रेलका सामान कसैले चोर्‍यो वा कुनै दुर्घटना भयो भने के गर्ने भन्ने स्पष्ट नभएकाले कानुनबिना रेल चलाउन गाह्रो देखिएको छ।

यसअघि जयनगर-जनकपुर रेल चलाउन २०१९ मा एउटा निकै छोटो कानुन थियो। उक्त कानुन अहिले सान्दर्भिक नभएकाले सरकारले रेल सञ्चालनसम्बन्धी नयाँ कानुन ल्याउन लागेको छ।

त्यसैले अहिले फर्किएकाे रेल जयनगरमा नेपालको आफ्नै स्टेशमा राखिनेछन् ।

अब रेलकाे ड्राइभर, सहायक ड्राइभरजस्ता प्राविधिक कर्मचारी, कानून लगायत विषयकाे टुँगाे लागेपछि मात्र उक्त रेल पुन जनकपुर आउने देखिन्छ ।  

त्यसाे त नेपालमा पहिलोचोटी रेल सञ्चालनमा आउन लागेको वा आएकाे हाेइन । 

नेपालमा नाै दशकअघि नै रेल आएको इतिहास रहेको छ । नेपालमा अमलेखगन्जसम्म झण्डै ९३ वर्षअघि नै रेल आएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाल र भारत रेलले जोडिएका थिए । यस्तै वि.सं. १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा रहेको इतिहासमा पढ्न पाइन्छ । नेपालको काठ भारत लैजान ब्रिटिस-इन्डिया सरकारले जनकपुर-जयनगर रेलमार्ग निर्माण गरेको थियो । 

तर नेपालको काठ निकासीमा रोक लागेपछि त्यही रेलबाट यात्रु आवतजावत गर्न थालेका थिए । रेलबाट नै दुई देशीय पारवहन सेवासमेत सञ्चालन भएको थियो । जनकपुर-जयनगर रेलमार्ग महोत्तरीको बिजलपुरासम्म विस्तार गरिएको थियो ।

विस्तार गरेको केही दिन नबित्दै जनकपुर-बिजलपुर २२ किलोमिटर खण्डको पुल बगाएपछि सेवा बन्द भएको थियो । सेवा बन्द भएसँगै पूर्वाधारहरु जीर्ण बनेको थियो । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल सञ्चालनमा थियो ।

 

गाउँ सहर डेस्क

तपाईँको मत