गाउँ सहर

जंगबहादुरले निर्माण गरेकाे कालमाेचन मन्दिरपरिसरमा जे देखियाे (फाेटाेकथा)

काठमाडौं । कालमोचन घाटमा रहेको राणाकालीन 'जंग हिरण्य हेम नारायण मन्दिर'को पुनर्निर्माण भइरहेकाे छ । काठमाडाैं थापाथलीस्थित त्रिपुरेश्वर लाग्दापट्टिकाे बागमती किनारमा रहेकाे कालमाेचन घाटसहित मठमन्दिर पुनर्निर्माण भइरहेकाे छ ।

जंगबहादुले निर्माण गर्न लगाएको 'जङ्ग हिरण्य हेम नारायण मन्दिर २०७२ सालको भूकम्पमा पूरै ढलेको थियो । 

तत्कालीन श्री ३ जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित बाग्मती किनारमा 'जंग हिरण्य हेम नारायण मन्दिर' बनाए। बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा सो मन्दिर निर्माण गरेका थिए।

टेकुदेखि थापाथली दोबानसम्म करिब १० वटा घाट छन्। त्यसमा सबैभन्दा महत्त्वपूर्ण घाटका रूपमा कालमोचन घाटलाई लिइन्छ। जंगबहादुरले सत्ता कब्जा गर्नका लागि धेरै षड्यन्त्र रचेका थिए। त्यसक्रमा उनले धेरै नरसंहार र गोत्र हत्या गरे। त्यसैबाट मोक्ष पाउनका लागि जंगबहादुरले कालमोचन घाट स्थापना गरेको बताइन्छ।

कालमोचन घाटमा नै राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीन तल्ले 'जङ्ग हिरण्य हेम नारायण मन्दिर' निर्माण गरेका थिए। माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर र तेस्रो तल्लाको चारै कुन्नामा चार सिंह (मेघ, मल्ल, सिंह र सधुन) राखी स्थापना गरिएको मन्दिर अगाडि भने जंगबहादुरकै पूर्णकदको प्रतीमा रहेको छ।

राणा शासन अन्त्य भएर शाहकालबाट गणतन्त्रसम्म पुग्दा समेत सो मन्दिर अगाडि जंगबहादुरको श्राद्ध हुँदै आएको छ। श्राद्धको चाँजोपाँजो भने सबै सरकारी स्तरबाटै गुठी संस्थानले गर्दै आएको छ।

कालमोचन घाटमा करिब एक दर्जनभन्दा बढी मन्दिर छन्। ती मन्दिरमध्ये 'जङ्ग हिरण्य हेम नारायण मन्दिर' लाई त्यसबेला निर्माण गरिएको अब्बल मन्दिरका रूपमा लिइन्थ्यो।

पुनर्निर्माण कार्य अहिले पनि भइरहेकाे देख्न सकिन्छ । मन्दिर अगाडीकाे जंगबहादुरकाे स्तम्भमा १९३१ सालमा खाेपिएकाे शिलालेख अझै देख्न सकिन्छ । ढुंगाकाे कछुवामाथि रहेकाे ढुंगाकै १५ फिट अग्लाे स्तम्भमाथि जंगबहादुरकाे पूर्णअर्धकदकाे शालिक छ ।   

थप तस्बिरहरू :

तस्वीर - शिवराज खड्का, गाउँ सहर ।

गाउँ सहर डेस्क

तपाईँको मत