समाज

हिन्दू परम्परामा सोह्रश्राद्धकाे महत्व, विद्युतीय श्राद्ध शास्त्र सम्मत छ ? श्राद्धको वैज्ञानिक र अन्धविश्वास पक्ष यस्ताे छ

काठमाडाैं । आजदेखि असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष सुरु भएको छ ।

यसपालिको पितृपक्ष सोह्रश्राद्ध भदौ १७ गते सुरु भई असोज ११ गते समापन हुँदैछ । औँसीमा सङ्क्रान्ति परेका कारण असोज २ देखि भने एक महिना हुने अधिक मास अर्थात् पुरुषोत्तम मास पर्न जाँदा दसैँ पर सरेको छ ।

कोभिड–१९ ले एकछत्र रजाइँ गरिरहँदा चाडबाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएन । श्राद्धादि कर्म पनि सकेसम्म कोरोनालाई ख्याल गरी घरैमा गर्नुपर्ने बाध्यता रहेको छ ।

कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हाल काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा निषेधाज्ञा त कतै बन्दाबन्दी छ । सबैतिर ब्राह्मण अर्थात् पुरोहित जजमान (श्राद्धकर्ता) का घरमा जान सक्ने वातावरण पनि छैन । विशेषगरी काठमाडौँ उपत्यका लगायत ठूला शहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रुपमा सूचना समेत जारी गरेका छन् ।

के हाे सोह्रश्राद्ध ?

यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवंगतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यसपटक भने कोभिड– १९ महाव्याधिको संक्रमण छल्न मिथिला क्षेत्रमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन् ।

यस पक्षभरि (पितृपक्ष) दिवंगत आत्माहरू मर्त्यलोक (पृथ्वी)मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।

पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवंगतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्रवटै तिथिको प्रतिनिधित्व हुने गरी यस पक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।

यस पक्षबाहेक दिवंगत हुनेहरूको तिथिमा एकोद्दिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ, तर यस पक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकुल (मावल),  पितृकुल (पिताकुल), गुरुजन र अविवाहित दिवंगत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने गरिन्छ ।

किन गरिन्छ सोह्रश्राद्ध ?

 

हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि समान्य जानकारी लिई व्यवहारिक रूपमा आफ्नो जीवनमा उर्ताने प्रयास गर्नु अति जरुरी हुन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो गच्छेअनुसार श्राद्धसाथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । “श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्” अर्थात् –पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । देश काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ” देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यसबारे के प्रष्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो ।

श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ ।“पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता” अर्थात् – पितृहरूलाई शुद्ध मन्त्र, शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ श्राद्धकल्पअनुसार पनि – प्रेत र पितृलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोद्दिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो । सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्धानहरूको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो ।

नवाैँमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो । दशौँ देववताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्राैँमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । त्यस्तै गरी अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमित्तिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो । यी सबै मध्ये खासगरी हाम्रो समाजमा एकोद्दिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरी सोह्रश्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझनु पर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।

श्राद्ध कसरी गर्ने ?

वैद्धिक सनातनी समाजमा सोह्रश्राद्धले आफ्नै महत्व राख्दछ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उद्धार गर्ने कार्य हो । श्राद्ध कसरी गर्ने सन्दर्भमा भने श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने लुगा तथा घरको सरसफाइ गर्ने एक भक्त रही ब्रह्मचार्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात् हबिसे पनि भनिन्छ – एक छाके भनेको यस दिन अपरान्ह्पछि मात्र एक छाक खानु पर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्णलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात श्रद्धाका दिनमा शौच, स्नान, नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाँइलाई खाना खुवाए पश्चात दान दक्षिणा गर्ने गरिन्छ । यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ । तर, तिथि बिर्सर्ने र यो क्रम तोडिनुचाँहि कदापी हुँदैन । यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो ।

श्राद्धको वैज्ञानिक पक्ष
सोह्र श्राद्धको वैज्ञानिकताको तर्क गर्नेहरुले गीताको चौथो अध्यायमा भनिएको प्रसङ्गलाई आधार मान्दै भनेका छन्,‘मृत्युपछि मान्छेको सुक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पर्छ, जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ ।’ मध्यम खालका अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ । प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, दलोभ, दलालच, दमद, दमात्सर्यमा भुलेको छ, अर्थात तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । मुढ विचारसहितको आत्मा भड्किरहन्छ त्यस्तो आत्मिक अशुद्ध शक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो नै विज्ञानसम्मत हो भन्ने गरिन्छ  ।
तर, प्रत्येक वर्ष सोह्र श्राद्धमा श्राद्ध गर्नेहरुले मृतक पुर्खाको सम्झनामा केही रचनात्मक काम गरेका छन् । उनीहरुले विद्यालयमा विद्यार्थीहरुलाई आवश्यक सामग्री प्रदान गरेर, वृद्ध वृद्धाहरुलाई फलफूल बाँडेर, कुनै सार्वजनिक पुस्तकालयमा सहयोग गरेर मनाउने गरेको पनि सुन्न पाइन्छ । तर, हिन्दुशास्त्र पुराणमा यस्ता कुरालाई महत्व नदिएको आरोप छ । र, सोह्र श्राद्धमा यी कुरालाई महत्व दिइँदैन । मृतक पुर्खालाई वर्षमा कम्तिमा एकपटक सम्झने कार्य राम्रो हो ।

श्राद्धको अन्धविश्वास पक्ष

प्रत्येक वर्ष सोह्र श्राद्धमा पितृको सम्झनामा जल तर्पण र पिण्ड दान गरिन्छ । समस्त पितृको तर्पण र पिण्डद्वारा उद्धार गरिने कुरा शास्त्रमा उल्लेख गरिएको छ । मृतात्माको शान्तिको लागि उनीहरुको नाममा पिण्ड, पानी चढाउने र आफ्नो क्षमता अनुसार ब्राम्हणलाई दान तथा भोजन गराउने गरिन्छ । श्राद्ध गरेन भनेर पितृहरु मङ्सिरमा लाग्ने सङ्क्रान्तिसम्म पितृहरु मेरो श्राद्ध सन्तानले गर्छन् कि भनेर कुरेर बस्ने र त्यति बेलासम्म पनि श्राद्ध नगर्दा पितृहरु निराश भएर फर्कन्छन् भनी शास्त्रमा उल्लेख छ । त्यस्तै, पृथ्वीमा आफ्ना सन्तानले गरेको श्राद्ध पितृहरुले पितृलोकमा गएको छ भने श्राद्धमा दिएको अन्न स्वधारुपमा परिणत भएर पितृले खान्छन् । देवलस्मृतिमा यदि पितृ देवताको रुपमा भए पृथ्वीबाट अमृतको रुपमा पितृले पाउँछन् । गन्धर्व भए वायुको नाना भोगका रुपमा, पशु भए तृणको रुपमा, नागयोनी भए वायुको रुपमा, यक्ष भए पेय पदार्थको रुपमा, राक्षस भए अमिषको रुपमा र दानव योनीमा भए मासरको रुपमा परिणत भएर पितृ तृप्त हुन्छन् भनिएको छ । सोह्र श्राद्धमा मरेका पितृ सन्तानको घरको ढोकामा आएर बस्छन् रे । जुन तिथिको दिन हो, त्यस दिन ब्राम्हणको शरीर भएर पितृ आउँछन् भनिएको छ ।

हिन्दुशास्त्रमा विभिन्न खालका कपोकल्पित भनाइहरु राखेर सोह्र श्राद्धलाई सनातन प्रव्रिmया अनुरुप मान्न बाध्य बनाइएको छ । आफूलाई जन्म दिने श्रदेय बाबुआमा सोह्र श्राद्धभरि पिण्ड दिन्छन् कि भन्ने आशाले पर्खिरहन्छन् भन्दा हो कि जस्तो पनि लाग्न सक्छ । त्यस्तै कर्ताले दिएको पिण्ड मृतात्मा जुन शरीरमा जन्मेका छन्, त्यही शरीर अनुसारको खाद्य भएर पाउँछन् भनिएको छ । यी सबै भनाईको पछाडि सत्यता पत्ता लगाउने कसी के छ ? यदि कसैले शास्त्र अनुरुप सोह्र श्राद्ध गर्दैन भने उसलाई डर देखाउने काम गरिएको छ । पितृदोषबाट सन्तान नहुनु, वंश नचल्नु धनको निरन्तर हानी हुनु, घर परिवारमा झगडा भइरहनु, भूतप्रेतको बाधा हुनु, जति परिश्रम गरे पनि दरिद्रता रहनु, घरकी छोरीको समयमा विवाह नहुनु जस्ता कुराको भय देखाउने गरिन्छ । यदि यसो हो भने नेपालमा श्राद्ध नगर्नेको सङ्ख्या भन्दा श्राद्ध गर्नेको सङ्ख्या नै कयौँ गुणाले बढी छ । देशमा शान्ति किन नभएको होला आज पनि कयौँ जनता गरिबीको रेखामुनि छन्, किन गरिबी निर्मुल नभएको होला, हुनुपर्ने होइन ? यी र यस्ता धेरै प्रश्न गर्न सकिन्छ ।

विद्युतीय श्राद्ध शास्त्र सम्मत हुँदैन: प्राडा गौतम

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विद्युतीय माध्यमबाट श्राद्ध गराउन गरिएको आह्वान शास्त्रसम्मत नभएको बताए । शास्त्रीय मान्यता अनुसार मरणपछि गरिने काजक्रिया र सोह्रश्राद्ध रोक्न मिल्दैन । “श्राद्धकर्ता आफैँ जान्ने भए भाञ्जा, ज्वाइँ लगायतलाई राखेर श्राद्ध गर्न सक्छन्, नजान्ने भए दूरी कायम गरी ब्राह्मणलाई बोलाएर श्राद्ध गर्नुपर्छ, कर्ताले श्राद्ध विधि नजानेको भए विद्युतीय माध्यमबाट श्राद्ध गर्न कुश कसले बनाइदिन्छ ? श्राद्धमा कुशबाट बनाइने पवित्र, मोटक, ऋषिका रुपमा स्थापना गरिने कुशको ब्राह्मणको आवश्यकता पर्छ, यो नभई विधिपूर्वक श्राद्ध हुन सक्दैन, यसरी श्राद्ध गर्न नसकिने भए शास्त्रले निर्धारण गरेको विकल्पमा जानुपर्छ”–उनले भने ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा गौतम बताए ।

यस वर्ष आगामी असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

शास्त्रीय विकल्प हुँदाहुँदै प्रशासकको उर्दी गलत

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई पनि विद्युतीय माध्यमबाट गरिने सोह्रश्राद्ध शास्त्रसम्मत् हुन नसक्नेमा जोड दिए । सोह्र श्राद्ध गर्न चारदेखि पाँच घण्टा लाग्छ । विद्युत् सूर्योदय र सूर्यास्तकाबीच जस्तो बत्ती २४ सै घण्टा नहुने भएकाले भर्चुअल माध्यमबाट गराइने सोह्र श्राद्धको विधि पूरा नहुने उहाँको मत छ ।

“धार्मिक कृत्य देव, द्विज अर्थात् ब्राह्मणको नजिकमा गर्नुपर्छ, पिण्ड लडाउनका लागिमात्र सोह्रश्राद्ध गरिने होइन, श्राद्धको बीचमा ब्राह्मणको हातबाट श्राद्धकर्तालाई टीका लगाइदिनुपर्ने विधि हुन्छ, विद्युतीय माध्यमबाट श्राद्ध गराउँदा यो विधि पूरा हुन सक्दैन”–उनले भने ।

हाम्रोजस्तो देशमा अहिले पनि इन्टरनेटको पहुँच कति प्रतिशत जनतामा होला यसतर्फ पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने धर्मशास्त्रविद्को भनाई छ । सोह्रश्राद्धकै बीचमा रोकिएमा अष्टमी, द्वादशी वा औँसी, त्यसबीच पनि रोकिएमा दुर्गा पक्ष शुरु भएको पञ्चमीसम्मको व्यवस्था रहेको र मङ्सिर सङ्क्रान्तिसम्मको विकल्प शास्त्रले दिएकाले त्यसको अनुसरण गर्न धर्मशास्त्रविद् भट्टराईले ध्यानाकर्षण गराउनुभएको छ ।आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प पनि उनले बताए ।

धर्मग्रन्थ ‘धर्मसिन्धु’ मा उल्लेख भए अुनसार मङ्सिर सङ्क्रान्तिसम्म जुराएर सोह्रश्राद्ध गर्न सकिन्छ । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विकल्प अहिलेको जस्तै महामारी, प्राकृतिक विपत्ति लगायत समयका लागि दिइएको हो ।

भर्चुअल विधिबाट श्राद्ध गराउँदा कुश बनाइदिने, हस्तक्रिया गराउने र सामुन्नेमा बसिदिने अर्को ब्राह्मण भएमा भने गर्न सकिने उनले बताए । शास्त्रीय रुपमा दिइएका अनेक विकल्प हुँदाहुँदै यस विषयमा जानकारी नभएका स्थानीय प्रशासकले हस्ताक्षर गरी विद्युतीय माध्यमबाट श्राद्ध गर भनी उर्दी जारी गर्नु उपयुक्त नभएकामा धर्मशास्त्रविद्को एक मत छ ।

पिण्ड, पानी लोप हुन नदिन विद्युतीय श्राद्ध गर्न सकिन्छ: प्राडा भट्टराई

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं पूर्व नायब बडागुरुज्यू प्रा डा माधव भट्टराई सोह्रश्राद्ध प्रत्येक वर्ष गरिने नित्यकर्मभित्र पर्ने भएकाले पुरोहितहरुबीचको सम्पर्कबाट कर्ताको घर नजिककालाई बोलाउने व्यवस्था गरेर काम चलाउन सकिने बताए । श्राद्धमा पुरोहित भने अनिवार्य हुनुपर्ने उनको मत छ । पुरोहतिहरुको सम्पर्कबाट नजिककालाई बोलाएर दूरी कायम गरी सहज रुपमै श्राद्धको विधि पूरा गर्न सकिने अध्यक्ष भट्टराईले बताए । मुख्य शहर बजारमा कोरोनाको बढी सङ्क्रमण रहेकाले थोरै आफन्त र ब्राह्मण बोलाएर सोह्रश्राद्ध गर्न सकिने तरीका उनले सुनाए । “पिण्ड, पानी लोप हुन दिनु शास्त्रीय मतका आधारमा उपयुक्त हुँदैन, गर्दै नगर्नुभन्दा सकेसम्म विधि पु¥याएर भर्चुअल विधिबाट पनि गर्न सकिन्छ, धर्मसिन्धु, निर्णयसिन्धु लगायत ग्रन्थमा परिस्थितिवश श्राद्ध लगायत क्रिया गर्न नसकिए एक अञ्जुली जल लिई सूर्यतिर फर्किएर पितृलाई सम्झिएर मैले यसवर्ष यसकारण श्राद्ध गर्न सकिन, नरिसाउनुस्, भन्दा चित्त बुझाउने वाक्य रहेको छ”–उनले भने ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यस पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएकामा धर्मशास्त्रविद्को ऐक्यबद्धता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुले बताए ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण सम्भावना कम छ । आफ्नो घरभन्दा बाहिर बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन छ । विभिन्न समाचार तथा लेखकाे सहयाेगमा 

गाउँ सहर डेस्क

तपाईँको मत