प्रेरणा

यज्ञमा किन दिइन्छ आहुति ? यसको रचना कसले गर्यो ? यज्ञ र हवनमा के फरक छ ?

[व्यापक सुख, समृद्धि, वर्षा, आरोग्य, शान्तिको लागि]

काठमाडौँ । हिन्दू धर्ममा यज्ञको परम्परा वैदिक कालदेखि नै चलि आएको छ । धर्म ग्रन्थमा मनोकामना पूर्ति तथा अनिष्ट हटाउनको लागि यज्ञ गर्ने गरेको प्रसंगहरु पाइन्छन् । रामायण तथा महाभारतमा यस्ता धेरै राजाहरुको चर्चा गरिएको छ जसले यज्ञ गरेका थिए । देवतालाई प्रशन्न गर्नको लागि यज्ञ गर्ने परम्परा छ । शास्त्रका अनुसार, यज्ञको रचना सर्वप्रथम परमपिता ब्रम्हाले गरेका थिए । यज्ञको सम्पूर्ण वर्णन वेदमा पाइन्छ ।

यज्ञको अर्को नाम हो अग्नि पूजा । यज्ञले देवतालाई प्रशन्न गर्न सकिन्छ र मनले चाहेको फल पनि प्राप्त गर्ने विश्वास छ । ब्रम्हाले मनुष्यसँग यज्ञको रचना गरे र मनुष्यलाई भने— यज्ञद्वारा तिमीहरुको उन्नति हुन्छ । यज्ञले तिम्रो इच्छित कामना, आवश्यकतालाई पूर्ण गर्नेछ । तिमी यज्ञद्वारा देवतालाई पुष्ट गर, उनले तिमीलाई उन्नतिको बाटोमा लैजान्छन् ।

ग्रन्थमा अग्निलाई इश्वरको मुख मानिएको छ । यसलाई जे ख्वाइन्छ (आहुति) गरिन्छ, वास्तवमा ब्रम्हभोज हो । यज्ञको मुखमा आहुति दिनु, परमात्मालाई भोजन गराउनु हो । निःसन्देह यज्ञमा देवता प्रकट हुन्छन् । धर्म ग्रन्थमा यज्ञको महिमा अपरम्पार छ । वेदमा पनि यज्ञको विषय प्रमुखताका साथ उठाइएको छ ।

यज्ञ एक महत्वपूर्ण विज्ञानपनि हो । यसमा जुन वृक्षको टुक्रा उपयोग गरिन्छ, त्यसमा विशेष प्रकारको गुण हुने गर्दछ । कुन प्रयोगको लागि कुन प्रकारको सामाग्री राखिन्छ, यसको पनि विज्ञान छ । ति वस्तुको समिश्रणबाट एक विशेष गुण तयार हुन्छ, जुन जल्दा वायुमण्डलमा विशिष्ट प्रभाव पैदा गराउँछ । वेद मन्त्रको उच्चारणको शक्तिबाट त्यो प्रभावमा थप वृद्धि हुन्छ । जो व्यक्ति यज्ञमा सहभागि हुन्छन्, उनी तथा निकट वातावरणमा त्यसको ठूलो प्रभाव पर्दछ । वैज्ञानिक अहिलेसम्म कृत्रिम वर्षा गराउनमा सफल भएका छैनन, तर यज्ञद्वारा वर्षाको प्रयोग सफल भएको छ । व्यापक सुख, समृद्धि, वर्षा, आरोग्य, शान्तिको लागि ठूलो यज्ञको आवश्यकता पर्दछ । तर साना हवनपनि आफ्नो सीमा र मर्यादामा रहेर गरेमा हामीलाई फाइदै गर्दछ ।

तर अर्को महत्वपूर्ण कुरा के छ भने हवन भनेको चाहिँ यज्ञको सानो रुप हो । कुनैपनि पूजा वा जपपछि अग्निमा आहुति दिइन्छ भने त्यो हवन हो । यसमा देवता, आहुति, वेदमन्त्र, ऋत्विक, दक्षिणा अनिवार्य रुपले हुन्छन् । हवन हिन्दू धर्ममा शुद्धिकरणको एक कर्मकाण्ड हो । कुण्डमा अग्निको माध्यमबाट देवातासम्म भोजन पुर्याउने प्रक्रियालाई हवन भनिन्छ । शुभकामना, स्वास्थ्य एवं समृद्धिको लागि हवन गरिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत