गाउँ सहर

मास्ककाे सम्बन्धमा डब्ल्यूएचओकाे नवजात शिशुदेखि १२ वर्षसम्मका बालबालिकालाई यस्ताे सुझाव

  • एजेन्सी
  • ७ भदौ आइतबार, २०७७ | १२:३५:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठनले १२ वर्षदेखिका बालबालिकाले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन वयस्कहरूले जस्तै मास्क लगाउनुपर्ने सुझाव दिएको छ ।

बालबालिकाहरूले कसरी भाइरस सार्छन् भन्ने धेरै थाहा नभएको स्वीकार गर्दै सङ्गठनले १३ वर्षदेखिका बालबालिका तथा किशोरकिशोरीले वयस्कले जसरी नै सङ्क्रमण फैलाउन सक्ने प्रमाण भएको उल्लेख गरेको छ ।

पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले प्रायः मास्क लगाउनु नपर्ने उसले बताएको छ।

डब्ल्यूएचओको वेबसाइटमा प्रकाशित सुझावले तीनवटा उमेर समूहलाई समेटेको छ ।

  • बाह्र वर्ष वा त्यसभन्दा बढी उमेरका बालबालिकाले वयस्कहरूले जस्तै मास्क लगाउनुपर्छ - एकअर्काबाट एक मिटरको दूरी कायम गर्न नसकिने परिस्थिति तथा कोरोनाभाइरस फैलिरहेको क्षेत्रमा ।
  • छदेखि ११ वर्षसम्मका बालबालिकाका लागि सङ्क्रमण कति व्यापक छ तथा उच्च जोखिम भएका व्यक्तिसँग उनीहरूको उठबस कत्तिको छ त्यो विचार गर्नुपर्ने सङ्गठनको सुझाव छ। बालबालिकाले मास्क प्रयोग गर्दा सुरक्षित रूपमा लाउन वा फुकाल्न ठूला मानिसको सहयोग चाहिने उसले जोड दिएको छ ।
  • पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले सामान्य परिस्थितिमा मास्क लगाउनुपर्दैन ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले दुई वर्षभित्र कोरोनाभाइरस महामारी सकिने आशा व्यक्त गरेका छन् ।

एजेन्सी

तपाईँको मत