प्रेरणा

टन्न धन कमाउने धनि व्यक्ति पो सफल र सुखी छन् कि ?

मानिसको जीवनको लक्ष्य र सफलता के हो ? राम्रो खानु र बस्नु मात्रै उसको उपलब्धी हो ?  व्यक्ति- व्यक्ति बीचको चाहना र प्राथमिकताको अन्तरले यसको लक्ष्य पनि फरक-फरक हुन सक्छ जसको फलस्वरूप लक्ष्यमा पुग्नु मात्रै सफलता हुन जान्छ । बिज्ञान र प्रविधिको सहाराले मानिस चन्द्रमा पुगिसक्यो, अब के लक्ष्य समाप्त भयो र मानिस सफल भयो त ? वास्तवमा लक्ष्यमा पुग्नु मात्रै पनि सफलता रहेनछ । 

व्यक्तिले जीवनमा हासिल गरेको नाम र दामलाई सफलतामा नापिन्छ । टन्न धन कमाउने धनि व्यक्ति पो सफल छ कि ? त्यहाँ पनि त्यस्तै निराशा, धन जोगाउने उपाय पत्ता लगाउँदै गर्दा तपाइँ भन्दा पनि बढी तनावमा तपाइँको धनि व्यक्ति देखिन्छ । पैसा कमाउन त सफल भयाे तर सन्तुष्ट भने देखिन्न । 

धनी हुनु पनि सफलताकाे रूपमा मापन गरिन्छ । धनी हुनका लागि उनीहरुले जीवन–संघर्षको कठीन यात्रा छिचोलेका हुन्छन् । श्रम, लगाव, निरन्तरको प्रयाससँगै सही समयमा, सही निर्णयले उनीहरुलाई समृद्धिको शिखरमा पुर्‍याउँछ । 

सामान्य व्यक्ति र धनीहरुको सोचाईबीच अन्तर हुन्छ । काम गराई फरक हुन्छ । कुनैपनि कुरालाई सोच्ने, गर्ने ढंग र शैलीमा एकरुपता हुँदैन । सामान्य मानिसले एउटा कुरालाई जसरी सोच्छन्, धनाढ्यहरुले त्यसलाई फरक ढंगबाट सोचिरहेका हुन्छन् ।

आफ्नो फरक सोंच, अवधारणा, तत्परता, श्रम, लगाव, निरन्तर प्रयासबाट उनीहरुले धन आर्जन गरेका हुन्छन् । धनी बन्नका लागि सोंच पनि त्यही किसिमको राख्नुपर्छ भनिन्छ । 

एउटा विद्यार्थीका लागि परीक्षामा प्रथम हुनु सफलता हो भने खेलाडीका खेल जित्नु । नेताका लागि चुनाव जित्नु सफलता होला, प्रेमी-प्रेमिकाका लागि मन जित्नु या विश्वास जित्नु… आदि । सामान्यतया मानिसहरुले धनसम्पति कमाउनु, नोकर चाकर राख्नु र अरुलाई आफ्नो पक्ष र वशमा राख्नुलाई सफलता ठान्दछन । तर सफलता यो भन्दा धेरै भिन्न कुरा हो । इड्विन सी. ब्लिसले भनेझैँ “सफलता भनेको असफल नहुनु मात्रै होइन, सफलता भनेको त आफुले संकल्प गरेका उदेश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो ।”

सफलता भनेको कुनै जादुगरि होइन । कुनै चिठ्ठा पर्नु पनि सफलता होइन, न त कुनै भाग्यकै उपज हो सफलता । बरु सफलता त निरन्तर गरिने सकारात्मक कामको परिणाम हो ।जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाईँ जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस् । आफुमा विश्वास र धैर्यता कायम राख्नुस् । तपाईँ स्वतः सफल बन्नुहुनेछ । नेपालीमा एउटा उखान छ ‘ दुःख पछिको सुख राम्रो हुन्छ तर सुख पछिको दुःख राम्रो हुदैन । सफलता पनि यस्तै कुरा हो । लामो त्यागले तपाईँलाई ठूलो सफलता दिलाउछ । तपाई साँचो रुपमा सफल हुन चाहिरहनु भएको छ तर तपाईको प्रयास असफल भयो भने चिन्ता नगर्नुहोस् । किनकि तपाईँलाई त्यहि असफलताले नै सफलता प्राप्त गर्न सिकाउँछ । तर वास्तबिक सफलताको वास्ता नगरि तपाईँ कुनै कुरा पाउनको वा जित्नको लागि गलत प्रयास गरिरहनु भएको छ र सबै कुरा तपाईँले भने जस्तै भयो भने पनि तपाईँ अन्ततः असफल नै हुनुहुनेछ ।

धन भनेको रुपैया पैसा घर जग्गा सुन चाँदी, हिरा मोतीलाई नै धनको संज्ञा दिन्छौ । ति चिज वस्तुहरु जोसँग छ त्यसैलाई धनी भन्छौ तर यि धनी व्यक्तिमाथि नियालेर हेर्दा आन्तरिक रुपमा दुःखी पाउँछौ किनकी ती व्यक्तिहरुलाई ती धनहरुको संरक्षण, प्रयोगबारे सधैं दुःखी भएको देख्न पाउँछौ । सधै धन कसरी कमाउने भन्ने एक मात्र विचारले गर्दा घरमा शान्ति आफ्नो निन्द्रा पनि बिर्सिएको देख्न पाईन्छ । धन भनेको बाच्नको लागि एउटा साहारा हो घमण्ड र आडम्बरी देखाउन होइन ।

मानिसलाई कति पैसा भए पुग्छ भन्ने कुरा कसैले पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । पैसा मानिसलाई यति नै चाहिन्छ भन्ने छैन तर, आवश्यकताभन्दा बढी पैसा थुपार्दा मानिसलाई थप तनाव र बोझ हुन्छ । आजको दिनमा मानिसलाई पाइला–पाइलामा पैसा चाहिन्छ तर, पैसा मात्रै सबथोक भने होइन । पैसा आज छ, भोलि नहुन पनि सक्छ । पैसाले सबै थोक किन्न सकिएला, तर खुशी किन्न सकिँदैन ।

हावापानीजस्तै पैसा पनि बाँच्नका लागि अति आवश्यक वस्तु हो । मानिसलाई जन्मदेखि मृत्युसम्म पैसाको आवश्यकता पर्छ । मानवीय सभ्यताको विकासक्रमसँगै छैटौँ तत्त्वका रूपमा मुद्रा पनि थपिएको छ । निश्चित उमेर पुगेपछि असल जीवन बिताउन धन आर्जन गर्नुपर्छ । धेरै पैसा थुपार्दा पनि मानिसलाई तनाव र बोझ महसुस हुन्छ । जति पैसा, उति तनाव । 

एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ । भौतिक जीवन छाडेर असल जीवन बाँच्नुपर्छ । पैसा कमाउने धुनमा आफ्नो जीवन बाँच्न भुल्नुहुन्न । कमाएको पैसा सामाजिक कार्यमा लगाउन सकेमा मात्रै मानिसलाई पैसाले सन्तुष्टि मिल्छ । नत्र कमाएको पैसाले मानिसलाई राम्रोसँग निद्रा पनि लाग्दैन । असल काम गरेर कमाएको धनले मात्रै मानिसलाई सुखी बनाउँछ । नराम्रो कामको परिणाम नराम्रै हुन्छ । धेरै पैसा धेरै दुःखको कारण पनि हो । धन धेरै जम्मा पार्ने दौडमा थुप्रिने दुःखबारे सबैले ध्यान दिनुपर्नेपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत