अर्थतन्त्र

कोरोना कहरबीच कुन वाणिज्य बैंकले सेयरधनीलाई कति लाभांश दिन सक्लान् ?

काठमाडाैं । कोरोना भाइरस संक्रमणकै कारण बैंकको नाफा पनि घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार यो वर्ष बैंकहरुको नाफा ११ प्रतिशत घटेको छ । यो भनेको ६ अर्ब २७ करोड रुपैयाँ हो ।

कृषि विकास बैंक र प्रभु बैंक बाहेक शुक्रबार २५ बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा ११ प्रतिशतमा घटेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणले आर्थिक गतिविधि प्राय: ठप्प हुँदा बैंकिङ कारोबार घटेको र कारोबारसँगै नाफा पनि घटेको बैंकरहरु भनाइ छ ।

सामान्य अवस्था रहेको अवस्थामा भने बैंकको नाफा बढ्ने अपेक्षा गरिएको थियो । बैंकहरुका अनुसार अवस्था सामान्य रहँदा १५ देखि २५ प्रतिशतसम्म नाफा बढ्ने थियो ।

सरकारले केन्द्रीय बैंकमार्फत् बैंकिङ क्षेत्रलाई प्रयोग गरेर ऋणीलाई राहत दिएका कारण पनि बैंकको नाफा घटेको हो ।

गत आर्थिक वर्षमा २५ बैंकले ५१ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका थिए ।

कुन वाणिज्य बैंकले सेयरधनीलाई कति लाभांश दिन सक्लान् ?

सार्वजनिक विवरण अनुसार २४ बैंकले औसतमा ११.३२ प्रतिशत लाभांश गत वर्षको नाफाबाट दिन सक्नेछन् ।

गत वर्षको नाफाबाट नविल बैंकले सबैभन्दा बढी अर्थात् ३०.१२ प्रतिशत लाभांश दिन सक्छ । ०७७ असार मसान्तमा १ अर्ब १५ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन नसक्दा पनि गत वर्ष ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसमध्ये ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ ।

नविल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट गत आर्थिक वर्ष २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर गरी कूल ३४ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले २४.७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट यो बैंकले गत वर्ष २२.५ प्रतिशत नगद लाभास दिएको थियो ।

चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता भएको अवस्था बाहेक चाटर्ड बैंकले नगद लाभांश दिँदै आएको छ ।

त्यस्तै नेपाल बैंकले ०७७ असार मसान्तमा उठ्नुपर्ने ६ अर्ब १४ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन नसक्दा पनि गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई २०.४८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

बैंकले गत वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत बोनस सेयर गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, गत आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंकले १९.६२ प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

एभरेष्ट बैंकले गत वर्ष सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ छ भने ८ अर्ब १८ करोड रुपैयाँ रिजर्भ छ ।

गत आर्थिक वर्षमा एनआइसी एशियाले ३ अर्ब १२ करोड रुपैयाँ नाफा कमाको छ । जसमध्ये १ अर्ब ४४ करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । जसअनुसार एनआइसी एशियाले सेयरधनीलाई यो वर्ष १४.८३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

हिमालयन बैंकले २ अर्ब ५४ करोड रुपैयाँमा नाफा कमाएको छ । जसमध्ये १ अर्ब ३० करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.९६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सानिमा बैंकले ०७७ असार मसान्तमा उठ्नुपर्ने १ अर्ब २४ करोड रुपैयाँ ब्याज र किस्ता उठाउन सकेन । तैपनि गत आर्थिक वर्ष सानिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । जसमध्ये १ अर्ब ११ करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षमा लक्ष्मी बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । जसमध्ये १ अर्ब १२ करोड ७२ लाख रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट यो वर्ष ११.४१ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ भने रिजर्भमा २ अर्ब ५४ करोड रुपैयाँ छ ।

गत वर्षको नाफाबाट बैंक अफ काठमाण्डू, प्राइम र एसबीआइले ११ प्रतिशत लाभांश दिने क्षमता राख्नछन् भने एनएमबिले १० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

२४ वटा बैंकमा १२ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ भने १२ वटा बैंकको क्षमता १० प्रतिशतभन्दा कम छ ।

माछापुच्छ्रे बैंकले ९.६१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत, सिटिजन्सले ९.०३ प्रतिशत लाभांश क्षमता राख्छन् । सिद्दार्थको ८.४५ प्रतिशत लाभांश क्षमता छ ।

मेगाको ८.४५ प्रतिशत, सनराइजको ५.८९, कुमारीको ५.६७ र एनबीको ५.१६ प्रतिशत लाभांश क्षमता छ ।

यस्तै लाभांशका हिसाबले लामो समय नम्बर वान रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश क्षमतामा उच्च गिरावट आएको छ । गत आर्थिक वर्षको नाफाबाट इन्भेष्टमेन्टले ४.५८ प्रतिशतमात्रै लाभांश दिने क्षमता राख्छ ।

त्यसैगरी, सेञ्चुरीको लाभांश दिने क्षमता ४.०२ प्रतिशत छ भने सिभिल बैंकको लाभांश दिने क्षमता सबैभन्दा कम अर्थात् ३.१५ प्रतिशत छ ।

कोरोनाको असर नाफा देखिएपछि अधिकांश बैंकको लाभांश क्षमता घटेको हो । बैंकहरुको लाभांश दिने क्षमतामा कमी आएसँगै वित्तीय क्षेत्रको ७५ प्रतिशत हिस्सा रहेको सेयर बजार प्रभावित हुने आँकलन गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत