गाउँ सहर

काेराेनाकाे ‘डेन्जर जोन’ मा हामी, राेगसँग लड्ने क्षमता राम्राे छ भन्ने गफ अझै चलिरहेछ

काठमाडाैं । काेराेनाबाट नेपाल सुरक्षित छ । नेपालीकाे राेगसँग लड्ने प्रतिराेधात्मक क्षमता राम्राे छ भन्दा भन्दै अहिलेसम्म ६० भन्दा बढिकाे मृत्यु भइसकेकाे छ । याे क्रम पछिल्लो समय बढिरहेकाे छ । साउनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकपछि अर्को गरी थपिने क्रम बढ्दो छ ।

नेपालमा पहिलोपटक जेठ ३ गते कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी  एक सुत्केरीले ज्यान गुमाएकी थिइन् । त्यसबेला नेपालमा संक्रमतिको संख्या २ सय ८१ मात्रै थियो ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट दोस्रो मृत्यु जेठ ४ गते भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार दाङ नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा रहेका २४ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो । जेठ ८ गते नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु भएको थियो ।  

जेठको अन्तिममा आइपुग्दा १९ जनाको मृत्यु भएको थियो । असार ३ गते एकै दिन तीनजनाको मृत्यु भयो । योसँगै मृत्यु हुनेको संख्या २२ पुगेको थियो । असार ११ गतेपछि अन्तिमसम्म आइपुग्दा यो संख्या ३९ पुग्यो ।   

साउन २ गते एक, ७ गते दुई, ८ गते एक, साउन ९ गते एक, १० गते एक, ११ गते दुई र १२ गते तीनजनाको मुत्यु हुँदा यो संख्या ४८ पुग्यो । साउन १३ गते एक, १५ गते तीन, १६ गते चारजनाको मृत्यु भएसँगै यो संख्या ५६ पुग्यो । त्यस्तै साउन १८ गते एक, २० गते एक  र २१ गते पाँच जनाको मृत्यु हुँदा यो संख्या ६३ पुगेको हो ।  

अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् । 

कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको स्वास्थ्य विज्ञहरू बताउन थालेका छन् । नेपाल  अब काेराेनाकाे ‘डेन्जर जोन’मा शुरूवात हुँदा पनि नेपालीहरूमा राेगसँग लड्ने प्रतिराेधात्मक क्षमता राम्राे छ भन्ने गफ अझै दिइरहेकाे भन्दै नागरिक र सरकार सचेत नभएकाे उनीहरूले औल्याइरहेका छन् । 

साउन महिना लागेसँगै चाडपर्व तथा मेलाहरूको लहर सुरु भएको छ । सहर तथा गाउँका मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । जात्रा र मेला चलाउनुपर्ने भएकाले समुदायमा पनि मानिसको चहलपहल बढिरहेको छ । चाडपर्वको चटारोसँगै कोभिड– १९ को संक्रमण जोखिम पनि बढ्दो छ ।

कोभिड संक्रमण न्यूनीकरणका लागि मन्दिर जाँदा सामाजिक दूरी कायम गर्नु, मास्क र स्यानिटाइजरको प्रयोग तथा पूजापाठ र दर्शनपछि साबुनपानीले हात धुने पर्याप्त व्यवस्था गर्नुपर्छ । स्थानीय स्तरमा हुने जात्रा तथा मेलालाई पनि व्यवस्थित गरिनुपर्छ। यतिखेरको विषम परिस्थति हेरेर विगतभन्दा फरक ढंगले कसरी जात्रा मनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ । यसरी नै सञ्चालन गर भनेर कसैले पनि बाध्यकारी व्यवस्था लागू गर्न मिल्दैन । यस्ता संस्कारलाई हरेक समुदायले आफ्नो जीवनशैली र पद्धतिसँग जोडेका हुन्छन् । यस्तो अवस्थामा स्थानीय स्तरमा क्रियाशील सामाजिक संस्था, आमा समूह, युवा क्लबलगायतका संस्थाको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । मेलालाई व्यवस्थित गर्ने विषयमा सरकारी संयन्त्रसँग समेत सहकार्य गरेर चेतनामूलक अभियान चलाउन सकिन्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत