विश्व

भारतमा साेमबार काेराेनाबाट विश्वभरिकै सबैभन्दा बढिकाे मृत्यु

  • एजेन्सी
  • २० श्रावण मंगलबार, २०७७ | १३:२७:०० मा प्रकाशित

साेमबार भारतमा विश्वभरिकै सबैभन्दा बढिकाे मृत्यु भएकाे छ । 

भारतमा सोमवार ८०३ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको सरकारले जनाएको छ । उक्त सङ्ख्या विगत २४ घण्टाको अवधिमा विश्वभरि कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक सङ्ख्या हो ।

मङ्गलवार बिहान सार्वजनिक गरिएको तथ्याङ्कमा भारतमा सोमवार ५२,०५० जनामा कोभिड-१९ पुष्टि भएको उल्लेख छ । यो वृद्धिसँगै भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमितको कुल सङ्ख्या १८,५५,७४६ पुगेको छ। तीमध्ये ३८,९३८ जनाको मृत्यु भइसकेको छ ।

भारतमा विगत छ दिनदेखि प्रत्येक दिन ५०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तर भारत सरकारले बिरामीहरू निको हुने दर अन्य देशको तुलनामा राम्रो भएको तर्क गरेको छ । अहिलेसम्म १२,३०,५०९ जना निको भएको बताइन्छ ।

भारतमा उच्चपदस्थ व्यक्तिहरू पनि सङ्क्रमित भएका छ । आइतवार गृहमन्त्री अमित शाहले आफूलाई कोभिड-१९ भएको घोषणा गरेका थिए ।

उत्तर प्रदेशमा एक मन्त्रीको मृत्यु भएको छ भने केही राज्यका राज्यपाल र नेताहरूमा सङ्क्रमण देखिएको छ ।

भारतमा लकडाउन हटाइएपछि सङ्क्रमण दर बढेको छ ।

महाराष्ट्र, तामिलनाडु, आन्ध्र प्रदेश, कर्णाटक र दिल्ली सर्वाधिक प्रभावित भएका छन् ।

नेपालसँग सीमा जोडिएका राज्यहरूमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

उत्तर प्रदेशमा सोमवार ४,४४१ जनामा सङ्क्रमण फेला पर्‍यो । त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ९७,००० नाघेको छ ।

एजेन्सी

तपाईँको मत